विश्वास ह्रस्व दीर्घप्रतिको

काठमाडौं ।

अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले आगामी कातिक ३० गते रिलिज हुने फिल्म ह्रस्व दीर्घ केही वर्षअघि नै आफ्नो निर्देशनमा बनाउने योजना भए पनि कथा विकसित हुँदै जाँदा क्षमताले नभ्याउने देखेपछि द्वन्द्व निर्देशक चन्द्र पन्तलाई निर्देशनमा भित्र्याएको खुलाएकी छन्।

‘कथा डेभलप हुँदै जाँदा मलाई डर लाग्यो। मैले यो किसिमको फिल्म निर्देशन गर्ने बेला भएको छैन भनेर चन्द्र दाइलाई जिम्मेवारी दिएँ। उहाँ जोडिइसकेपछि फिल्ममा अझ धेरै कुरा परिवर्तन भयो। कलाकार पनि थपिँदै जानुभयो र टेक्निकल्ली लेभल बढ्दै गयो,’ फिल्म निर्माणको अनुभव साट्दै नीताले हालैको एक पत्रकार भेटघाटमा भनिन्, ‘एउटै व्यक्तिले अभिनय र निर्माण गर्नु निकै गाह्रो काम रहेछ। काम गर्दै जाँदा म यो फिल्मको निर्माता मात्र भएको भए पनि हुन्थ्यो जस्तो भएको थियो। ६/७ करोडको यो फिल्म निर्माण गर्दाको अनुभवले अब म्यानेजमेन्टको हिसाबले ५० करोडको फिल्म बनाउने अनुभव सिकाएको छ।’

नेपालीका साथ हिन्दी र तेलुगु भाषामा समेत रिलिज हुने भनिएको फिल्मका निर्देशक द्वन्द्व निर्देशक चन्द्र पन्त हुन्। चन्द्रले फिल्मको हिन्दी तथा तेलुगु भाषा तथा ओटीटीमा समेत उच्च माग भएको बताए।

‘ह्रस्व दीर्घ लभ, एक्सन र इमोसन भएको पारिवारिक फिल्म हो। जसमा कुनै पनि फिल्मबाट केही पनि चिज कपी भएको छैन। हुन त धेरैले बह्मानन्दमको सिन धेरै छैन होला भन्नुहुन्छ। तर, उनले आजसम्म काम गरेका करिब १३/१४ सय फिल्ममा आजसम्म सबैभन्दा लामो सिन यही फिल्ममा गरेका छन्। त्यस्तै, सुनीलको क्यारेक्टर चाहिएजति छ। हामीले इन्डियन कलाकारलाई नाम र पोस्टरका लागि मात्र लिएका होइनौँ। डिस्ट्रिब्युटरको सल्लाहअनुसार नेपालमा पनि हिन्दी भाषामा रिलिज गर्न लागेका हौैँ,’ चन्द्रको भनाइ थियो, ‘नेपालमा बढी शो दियो भने हिन्दी भाषामा बढी शो पाउने देखिएका कारण नै नेपालीले जुन भाषामा मन लाग्छ त्यही भाषामा हेर्न सक्नेछन्। नेपालमा राम्रो भए भारतमा पनि रिलिजका लागि सजिलो हुनेछ।’

ज्योतिषसमेत रहेका फिल्मका अभिनेता हरिहर अधिकारीले फिल्मको सुरुआत राम्रो दिनमा गरेको र साइतमा शुरू गरेकाले बाधा अड्चनबिनै ४३ दिनमा सुटिङ सकिएको बताए। उनले ब्रम्हानन्दको भूमिकामा शुरूमा जितु नेपाल भएको, तर उनी अर्को फिल्मतिर लागेपछि उनको स्थानमा ब्रम्हानन्दलाई कुरा ग र्दा १० मिनेटमा नै काम गर्न मानेको बताए।

‘काम गर्ने क्रममा शुरूमा असहज भए पनि काम गर्दै जाँदा सहज भयो। मलाई ब्रम्हानन्द र सुनीलले मद्दत गर्नुभयो। मैले आफूलाई पहिलो फिल्म शुभलभ भन्दा यसमा सच्याउने मौका पाएको छु,’ उनले भने।

लामो समयपछि यही फिल्मबाट फेरि अभिनयमा फर्किएकी अभिनेत्री विपना थापाले फिल्ममा उमेरअनुसारको भूमिकामा अभिनय गरेको बताइन्। ‘एउटा कलाकारले आफूलाई मन परेको खण्डमा जस्तो पनि रोल गर्न सक्छ, जसले समाजलाई पोजेटिभ सन्देश दिओस्। त्यही कारण क्यारेक्टर मन परेकाले उमेरको हिसाबले पनि क्योरेक्टर रोल गरेको छु। नीताको फोन आएपछि मैले केही सोच्दै नसोची यसमा काम गर्छु भने,’ विपनाले भनिन्, ‘हाम्रो कलाकारलाई विदेशीले कहिले चिन्ने होला जस्तो लाग्थ्यो। यो फिल्म चाहिँ त्यही माध्यम बन्लाजस्तो लागेर काम गरेको हुँ।’

फिल्ममा हरिहर, नीता र विपनाका साथमा दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, बलिउड कलाकार सुनील वर्मा, प्रदीवराज रावतसँगै गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायतले अभिनय गरेका छन्। सोसियल ड्रामासहितको प्रेमकथामा आधारित भनिएको फिल्म भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ।

हरिहर अधिकारीको कथा रहेको फिल्ममा रामजी लामिछाने कोरियोग्राफी, बलिउडका स्थापित छायांकार कविरलालको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ।

Source : https://newsofnepal.com/2024/11/07/676932/