सुनका अवैध कारोवारी अझै सलबलाउँदै एक पक्राऊ

वीरगन्ज । सुन आयात गर्दा लाग्ने भन्सार दर नेपाल सरकारले १० प्रतिशत कम गरेको तेस्रो दिनसम्म पनि अवैध सुनको कारोवार गर्ने सकृय रहेको तथ्य फेला परेको छ । नेपालमाभन्दा छिमेकीमुलुक भारतमा सुनको भाउ सस्तो हुँदा अवैध सुनको कारोवार भइरहेको आँकलन गर्दै गएको आईतबार नेपाल सरकारले सुन आयातमा लाग्ने भन्सार दरमा १० प्रतिशत कम गरेको छ । यसको तीन पछिसम्म पनि सुनको अवैध कारोवार गर्ने कारोवारी भने सकृय नै रहेको पर्सा प्रहरीले सुन सहित अवैध कारोवारी नियन्त्रणमा लिए पछि तथ्य सतहमा आएको हो ।

अवैध कारोवार न्यूनिकरण गर्ने निष्कर्ष सहित सरकारले सुन आयात गर्दा भन्सार दरमा लाग्ने २० प्रतिशतलाई १० प्रतिशतमा झारेको छ । यो नीति अंगिकार गरिसक्दा पनि अवैध सुन कारोवार गर्ने चाही सलबलाइरहेको भेटिएको छ । मंगलबार १०७ ग्राम ८९ मिलिग्राम सुन सहित अवैध कारोवारमा संलग्न पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाही बस्ने बर्ष २८ को जय प्रकाश कुमार सोनारलाई पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका स्थित वडा नम्बर ८ लिंकरोडबाट नियन्त्रणमा लिएको छ ।

बजार भाउ अनुसार सो सुनको मूल्य १३ लाख ८८ हजार ४ सय ३६ रुपैया पर्ने पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । शंकास्पद अवस्थामा मोटरसाइकलमा चढी हिडिरहेको समयमा प्रहरीले रीत पु¥याई जीउ खानतलासी लिंदा अभियुक्त सोनारसँग खरिद विक्रीको कुनै कागजपत्र विनाको उक्त परिणामको सुन फेला परेको उनको भनाइ छ । अभियुक्त सोनारले सुन बोक्न प्रयोग गरेको ना ६२ प २७०५ नम्बरको एफजेड मोटरसाइकल पनि नियन्त्रणमा लिई थप कार्वाहीको लागि बुधबार कारोवारीलाई वीरगन्ज भन्सारमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

लाखौ रुपैयाको अवैध कारोवारको सुन सहित भन्सारमा बुझाइएका सोनारलाई दोषी ठहरे भन्सार ऐन २०६४ अनुसार कार्वाही हुने वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले बताए । आकर्षित हुने ऐन अनुसार विगो बमोजिम जरिवाना र एक महिना कैद पनि हुन सक्ने उनको भनाइ छ । यसको अलावा सवारी साधन तर्फको हकमा चालक मात्र भए ५० हजार र आफ्नै सवारी पनि भए एक लाखसम्म जरिवाना हुने पनि प्रावधान रहेको पाइएको छ ।

प्रहरीले बल्ल समात्यो
अवैध कारोवार भइरहेको आशंका गरिएको चालु आ.व.को चार महिनामा पर्सा प्रहरीले अवैध सुनका कुनै पनि कारोवारी सहित सुन नियन्त्रणमा लिएको थिएन । वैध सुनको कारोवार बढाउन सरकार लागेपछि भने पर्सा प्रहरी पनि चनाखो देखिएको आभाष मिलेको छ । मंगलबार सुन सहित अवैध कारोवारी नियन्त्रणमा परेको यो आर्थिक वर्षको पहिलो तथ्याँक पनि हो । यसले पनि सुनमा घुन मिसिएको स्थानीयको आरोप केही हदसम्म नमिल्दो देखिदैन ।

भन्सार विभागको तथ्याँक अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिना अर्थात साउनदेखि कात्तिक मसान्तसम्ममा सुनको आयात करिब १ सय ३२ केजी मात्र देखिनु र गत आर्थिक वर्षको सोही अवधिमा भने १ हजार केजी सुन आयात भएको देखुनु सहजै अनुमान लगाउन सक्ने अर्को जबरजस्त आधार पनि हो । यो तथ्याँकले मुलुकको प्रमुख नाका पनि नमुछिएला भन्न सकिन्न । तर सतहमा अवैध कारोवारको सुन पक्राउ परेको भने वीरगन्ज नाकामा यो पहिलो घटना हो ।

सीमा क्षेत्रको व्यापारमा अघिल्ला सरकारको नीति गलत
अघिल्लो सरकारले गएको जेठ १५ मा ल्याएको बजेट नीति अनुसार सुनमा पनि भन्सार दर २० प्रतिशत हुँदा भारतमाभन्दा नेपालमा सुन महंगो पर्ने गरेको सुनचाँदी व्यवसायी बताउँथे । यस्तो हुँदा सुनको अवैध कारोवार नहुने भन्ने कुरै भएन । यो निष्कर्ष सहित सो दरमा आधा नै कम गर्दै यो सरकारले १० प्रतिशत भन्सार दर कम गर्दा सुनको भाउँ समेत केही सस्तिएको उनीहरुको तर्क छ । सरकारको यो नीतिले अवैध कारोवारलाई पनि केही निस्तेज पार्ने उनीहरुको भनाइ छ ।

अघिल्लो सरकारका गलत नीतिले आयातित मालबस्तुबाट राजश्व संकलनमा गलत प्रभाव, अवैध व्यापारमा बढोत्तरी भएको वीरगन्ज उद्योग बाणिज्य संघले धेरै पटक कुरा उठाएकै थियो । यसको अलावा सर्वसाधारणको भान्सा महँगो हुँदा सस्तो सामानको खोजीमा सीमा क्षेत्रका अधिकाँश मानिस सीमा उपार सामान खरिद गर्न जाँदा पैसा पलायन मात्र नभई राजश्व समेत गुमेको संघको दावी थियो । सुन सहित केही समानमा भन्सार दर कम गर्ने वर्तमान सरकारको नीतिले सीमा वारीको व्यापार केही सुधार हुन्छ कि ? भन्ने बढ्ने संकेत देखाएको वीरगन्ज उद्योग बाणिज्य संघको भनाइ छ । सबै व्यापारमा गिरावट आइरहेको समयमा सुन पसलहरु भने धमाधम बढेर वीरगन्ज क्षेत्रमा मात्र ४ सयको हाराहारीमा पुगिसकेका थिए । दुईवर्ष अगाडीसम्म यति धेरै सुन पसल नभएको स्थानीय सुनकारीवारी आफै स्वीकार्छन् ।

The post सुनका अवैध कारोवारी अझै सलबलाउँदै एक पक्राऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104562/