१४औं नेपाल फेस्टिवल-२०२४ : नेपाललाई विश्वसामु चिनाउने अवसर

  • टोकियोमा हुने १४औं नेपाल फेस्टिवल २०२४ मिति नजिकिँदै, उप-समितिहरुले यसरी गर्दैछन् काम

टोकियो – जापानको राजधानी टोकियोमा हुन लागेको १४ औं नेपाल फेस्टिवल-२०२४ को तयारी तीव्र गतिमा अघि बढिरहेको छ। ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मुख्य उद्देश्यका साथ नेपाल फेस्टिवल-२०२४ हुन लागेको हो ।

फेस्टिवल आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन टोकियोको नाकानो सिकिनोमोरी पार्कमा आयोजना हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नविन निउरेले जानकारी दिए । उनका अनुसार आर्थिक संकलन अभियान, स्टल बुकिङ, स्वयम् सेवकका लागि आवेदन र विभिन्न भेषभूषा, मौलिक कला संस्कृति अन्तर्गत रहेर प्रतिभा प्रस्तुत गर्न इच्छुकहरुलाई सम्पर्क गर्नका लागि सार्वजनिक सूचना जारी गरिएको छ ।

नेपाल हाउस निर्माणमा विशेष सहयोग
यो महोत्सवले नेपाल र नेपालीको पहिचानलाई जापानमा मजबुत बनाउने र नेपालको पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको छ । मुख्य रूपमा नेपाल हाउस निर्माणको दीर्घकालीन महत्त्वलाई मध्यनजर गर्दै आर्थिक संकलन र प्रचारप्रसारलाई यस पटक विशेष जोड दिइएको छ । एनआरएनए जापान, नेपाल आदिवासी जनजाति महासंघ र नेपाली राजदूतावासको संयुक्त आयोजनामा हुन लागेको यो फेस्टिवलले नेपालका मौलिक कला, संस्कृति, रीतिरिवाज तथा पर्यटन स्थलहरुको प्रवर्द्धनमा विशेष योगदान पुर्याउने लक्ष्य राखेको छ ।

एनआरएनए जापानका उपाध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका उपसंयोजक सुभास लामिछानेले जानकारी गराए अनुसार यो पटकका स्टल संख्या विगतको तुलनामा बढाइएको छ र कार्यक्रम स्थल पनि फराकिलो बनाइएको छ । लामिछानेका अनुसार स्टेज, स्टल तथा अन्य संरचनाको डिजाइनिङ अन्तिम चरणमा पुगेको छ ।

नेपालका कला-संस्कृति र पर्यटनको प्रचारप्रसार
नेपालको संस्कृति, पर्यटकीय स्थल, सामाजिक रीतिरिवाज तथा धार्मिक महत्त्वका स्थानहरूको जानकारी जापानी नागरिकहरुमा पुर्याउने उद्देश्यले डकुमेन्ट्री र फोटो प्रदर्शनीको समेत आयोजना गरिँदैछ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुने छ । एनआरएनए जापानका प्रवक्ता खगराज गौतमका अनुसार नेपाल फेस्टिवलमा नेपाललाई चिनाउने उद्देश्यले निरन्तर रूपमा डकुमेन्ट्री र फोटो प्रदर्शनी गरिनेछ ।

स्टल बुकिङ खुला
१४ औं नेपाल फेस्टिवलका लागि स्टल बुकिङ खुला गरिएको छ, र इच्छुक व्यक्तिहरु, व्यवसायी, तथा संघसंस्थाहरुले स्टल बुकिङ फाराम अनिवार्य रूपमा भर्नुपर्नेछ। स्टल व्यवस्थापन उपसमितिका संयोजक सचिन श्रेष्ठका अनुसार यस वर्षको फेस्टिवलमा ६m/3m आकारका १२ वटा रेष्टुरेन्ट प्रयोजनका लागि फुड स्टल र ३m/3m का २५ वटा अन्य व्यवसायिक प्रयोजनका स्टलहरु रहनेछन् ।

रेष्टुरेन्ट स्टलको भाडा प्रति स्टल ४० मान जापानी येन र ५ मान येन डिपोजिट राखेर ४५ मान येन तोकिएको छ भने, अन्य व्यवसायिक सेवामूलक स्टलको लागि १६ मान येनको भाडा तोकिएको छ। स्टल बुकिङका लागि नोभेम्बर १० सम्मको समयसीमा राखिएको छ र नोभेम्बर १५ मा स्टल बाँडफाँड गरिनेछ ।

स्वयम्सेवक आवदेन खुला
नेपाल फेस्टिवल २०२४ का लागि स्वयम्सेवकको रूपमा कार्य गर्न इच्छुक नेपाली संघसंस्था तथा व्यक्तिहरुले नोभेम्बर १५ सम्म आवेदन दिनसक्ने छन् । स्वयम् सेवक परिचालन उप समितिका संयोजक सागर कार्कीका अनुसार कार्यक्रम स्थलमा आगन्तुकहरुलाई सहजीकरण गर्न र फेस्टिवललाई व्यवस्थित बनाउन स्वयम्सेवकहरूको विशेष आवश्यकता रहेको छ ।

नेपाललाई विश्वसामु चिनाउने अवसर
नेपालका मौलिक भेषभूषा, कला र संस्कृतिलाई जापानमा प्रवर्द्धन गर्ने उद्देश्यले यो पटक विभिन्न सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ ।

एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले नेपालका भेषभूषा र संस्कृतिका विभिन्न पाटाहरु जापानमा रहेका नेपाली समुदाय र जापानी नागरिकबीच परिचित गराउने प्रयास भइरहेको बताए । फेस्टिवलका सदस्य सचिव तथा एनआरएनए जापानका महासचिव टिकाराम खरेलले भने, ‘नेपालको कला-संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई अपनत्वको अनुभूति गराउन यो फेस्टिवल एक महत्वपूर्ण माध्यम हुनेछ ।’

नेपाल फेस्टिवलको यो संस्करणले जापानमा रहेका नेपाली समुदायबीच आपसी ऐक्यबद्धता बढाउन र नेपाललाई जापानमा परिचित गराउन थप महत्वपूर्ण भूमिका खेल्नेछ ।

The post १४औं नेपाल फेस्टिवल-२०२४ : नेपाललाई विश्वसामु चिनाउने अवसर appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493735/