२०२६ सम्म पहिलो सि-२९५ विमान वितरण गर्ने लक्ष्यसहित टाटा एयरक्राफ्ट कम्प्लेक्सको उद्घाटन
काठमाडौँ । भारतको रक्षा उद्योगलाई नयाँ उचाईमा पुर्याउने महत्त्वाकांक्षी योजनासहित टाटा समूह र एयरबसको सहकार्यमा निर्मित टाटा एयरक्राफ्ट कम्प्लेक्सको उद्घाटन गुजरातको वडोदरा शहरमा सम्पन्न भएको छ । यो परियोजना मार्फत सन् २०२६ सम्म भारतमा निर्मित पहिलो सि-२९५ सैन्य ट्रान्सपोर्ट विमानलाई भारतीय वायुसेनामा हस्तान्तरण गरिने योजना रहेको छ
टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले उद्घाटन समारोहमा बोल्दै यो परियोजनाले भारतको रक्षा र उत्पादन उद्योगमा ठूलो फड्को मार्ने बताए । ‘यो परियोजनाले भारतलाई आधुनिक र उच्च प्राविधिक क्षमता भएको विनिर्माण क्षेत्रतर्फ अग्रसर गराउनेछ। यसले भारतीय युवाहरुलाई विभिन्न उच्च प्रविधीयुक्त रोजगारको अवसर सिर्जना गर्नेछ र देशको उद्यमशिलता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।’, चन्द्रशेखरनले भने ।
प्रधानमन्त्री नरेन्द्र मोदी र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले संयुक्त रूपमा यो परियोजनाको उद्घाटन गरेका हुन् । यो कार्यक्रमले भारत र स्पेनबीचको रक्षा साझेदारीलाई अझ बलियो बनाउने आशा गरिएको छ । प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा ‘मेक इन इन्डिया’ अभियान अन्तर्गत विदेशी साझेदारहरूसँगको सहकार्यद्वारा भारतलाई एक औद्योगिक शक्ति बनाउने लक्ष्यमा यो परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
स्पेनका प्रधानमन्त्री सान्चेजले पनि कार्यक्रममा बोल्दै यो साझेदारीलाई ‘दुई देशबीचको उत्कृष्ठ सहकार्य’ का रूपमा वर्णन गरेका छन् । उनले भने, ‘एयरबस र टाटाको यो सहकार्यले भारतीय रक्षा उद्योगलाई सशक्त बनाउने छ र अन्य युरोपेली कम्पनीहरूलाई पनि भारतीय बजारमा प्रवेश गर्न प्रोत्साहित गर्नेछ । टाटा समूह भारतीय उद्योगको एक उत्कृष्ट प्रतिनिधि हो र यो परियोजना दुई देशका उद्योगहरूबीचको गहिरो सम्बन्धको प्रतीक हो ।’
यस परियोजनामा हालसम्म ४० भन्दा बढी साना र मझौला उद्योगहरूलाई संलग्न गरिसकिएको छ र आगामी दिनहरूमा थप कम्पनीहरूलाई पनि परियोजनामा समेट्ने योजना रहेको टाटा सन्सले जनाएको छ । यस परियोजनाका लागि टाटा समूहका २०० भन्दा बढी इन्जिनियरहरू हाल स्पेनमा तालिम लिइरहेका छन् ।
एन चन्द्रशेखरनले परियोजनाको परिकल्पना झण्डै एक दशकअघि तत्कालिन टाटा सन्सका अध्यक्ष रतन टाटाले गर्नुभएको स्मरण गर्दै यो ऐतिहासिक योजना उहाँको दूरदृष्टिको परिणाम रहेको बताए । ‘यो परियोजनाको मूल परिकल्पना सन् २०१२ मा रतन टाटा ज्यूले गर्नुभएको थियो, जसले एयरबससँगको यो सहकार्यको जग राख्नुभयो। उहाँको नेतृत्व र दूरदृष्टिलाई स्मरण गर्दै यो परियोजना टाटा समूह र भारतका लागि ऐतिहासिक महत्वको क्षण हो ।’ चन्द्रशेखरनले भने ।
समग्रमा, वडोदरा स्थित टाटा एयरक्राफ्ट कम्प्लेक्सले भारतको रक्षा उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र युवाहरुलाई अत्याधुनिक प्रविधिमा आधारित रोजगारका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ । ‘मेक इन इन्डिया’ अभियान अन्तर्गत यो कदमले भारतलाई विश्वव्यापी रक्षा उत्पादन केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
Source : https://arthasarokar.com/2024/11/tata-aircraft.html