अमेरिकाबाट कागजातविहीनको देशनिकालाका लागि ट्रम्पले कसरी परिचालन गर्लान् सेना?

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो देशनिकाला अभियान सुरु गर्ने आफ्नो २०२४ को चुनावी वाचालाई पद सम्हालेपछि तुरुन्तै कार्यान्वयन गर्ने प्रतिज्ञा गरेका छन्। उनले यस हप्ता यो विशाल अभियानका लागि अमेरिकी सेना परिचालन गर्ने संकेत समेत गरेका छन्।

तर, सेनालाई यस किसिमको ठूलो मात्रामा देशनिकालाको कार्यमा कसरी संलग्न गराउने भन्ने कुरा अझै स्पष्ट छैन। साथै, सैनिक सदस्यहरूलाई आप्रवासन कार्यमा संलग्न गराउनु कानुनी रूपमा चुनौतीपूर्ण प्रश्न बनेको छ। रक्षा मन्त्रालयले रिपब्लिकन र डेमोक्रेटिक दुवै राष्ट्रपतिहरूको प्रशासनमा दशकौँदेखि आप्रवासन र सीमा सुरक्षा कार्यमा सहयोग गर्दै आएको छ। हाल अमेरिकाको दक्षिण पश्चिम सीमामा मुख्यतया नेशनल गार्डका सदस्यहरुसहित ४ हजारले सीबीपीको मिसनमा सहयोग गरिरहेका छन्।

आइसका पूर्व निर्देशक थोमस होमनले सेनाका विमानहरू लगायत रक्षा मन्त्रालयका यातायात र आपूर्ति साधनहरू देशनिकालाको कार्यमा प्रयोग गर्न सकिने सुझाव दिएका छन्। तर आगामी ह्वाइट हाउसका डेप्युटी चिफ अफ स्टाफ स्टीफन मिलरले अझै अघि बढेर नेशनल गार्डलाई कागजात नभएका आप्रवासीहरूलाई पक्राउ गर्न पनि जिम्मेवारी दिन सकिने बताएका छन्।

अमेरिकी कानूनले सामान्यतया सशस्त्र फौजलाई घरेलु कानून कार्यान्वयनमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ, तर ट्रम्प प्रशासनले यसमा अपवाद सिर्जना गर्न इन्सरेक्शन एक्टलाई प्रयोग मिलरले गतबर्ष बताएका थिए । यो ऐनले संघीय फौजलाई कागाजत नभएका आप्रवासीहरूलाई पक्राउ गर्न अनुमति दिनेछ।

सेनालाई दक्षिणी सीमामा अवरोध र निषेध मिशनका लागि खटाउन सकिने पनि मिलरले संकेत गरेका छन् । ट्रम्पले दोस्रो विश्वयुद्धका बेला इटालियन, जर्मन, र जापानी आप्रवासीहरूको निगरानी र हिरासतका लागि प्रयोग भएको १७९८ को एलियन र सेडिशन एक्ट प्रयोग गरेर आप्रवासी गिरोहका सदस्यहरूलाई देशनिकाला गर्ने प्रतिज्ञा गरेका छन्।

अमेरिकी सीमा सुरक्षा कार्यमा सेनाको भूमिका सन्दर्भमा अमेरिका–मेक्सिको सीमामा अमेरिकी सेनाको उपस्थिति मेक्सिकन अमेरिकी युद्धदेखि चलिआएको हो। मेक्सिकन क्रान्ति र प्रथम विश्वयुद्धका बेला दक्षिणी सीमामा थप सेना परिचालन गरिएको थियो। करिब ४० वर्षदेखि सेनाको सीमामा संलग्नता क्रमशः बढ्दै आएको छ ।

सीमामा तैनाथ सैनिकहरूले ऐतिहासिक रूपमा निगरानी विमान सञ्चालन गर्ने, अमेरिकी सीमा सुरक्षा गार्डहरूलाई हेलिकप्टरमा लैजाने, काँडे तार राख्ने र सीमामा सहयोग गर्ने काम गरेका छन्। सैनिकहरूलाई आप्रवासीहरूसँग प्रत्यक्ष संलग्न नगरिकन थप सहयोगका लागि प्रयोग गर्ने भनिएको यही सन्दर्भमा हो ।

पोसी कोमिटाटस एक्टले संघीय सशस्त्र फौजलाई कानुन कार्यान्वयनमा सहभागी हुन प्रतिबन्ध लगाएको छ, तर १८०७ को इन्सरेक्शन एक्टले राष्ट्रपतिलाई घरेलु मामिलामा सेनाको प्रयोग गर्न अनुमति दिन्छ। नेशनल गार्ड राज्य अन्तर्गत रहेसम्म पोसी कोमिटाटसको अधीनमा पर्दैन।

रक्षा मन्त्रालयको ठूलो बजेट र स्रोतहरूले निर्वासन कार्यक्रमलाई सहयोग पुर्याउन ठूलो सहयोग पुर्याउन सक्छ। सेना परिचालन गर्ने कदम चालेमा उक्त कदमविरुद्ध अदालतमा चुनौति समेत आउन सक्छ । एलियन र सेडिशन एक्ट अन्तर्गत सेना प्रयोग गर्ने प्रयास अवैध हुने कानुनविदहरुको भनाई छ ।

ट्रम्पले सीमा क्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा गर्न सक्छन् । पहिलो कार्यकालमा ट्रम्पले सीमामा संकटकाल घोषणा गर्दै सीमामा पर्खाल निर्माणको लागि बजेट डाइवर्ट गरेका थिए।

Source : https://www.khasokhas.com/211775