अस्तित्वको संकटमा जनकपुरधाम : एक दशक भित्रै भारतीय पर्यटक आगमन सुक्ने !

भारत सरकारद्वारा पुनौराधामलाई जनकपुरधामको विकल्पका रुपमा प्रवद्र्धन गर्ने परियोजना कार्यान्वयन गरिएको छ ।

जनकपुरधाम आउने पर्यटकमध्ये ७० प्रतिशत भारतीय पर्यटक रहेको आध्यात्मिक परिवेशमा यसको विकल्पका रुपमा पुनौराधाम विकास परियोजना कार्यान्वयनले पुनौराधामलाई विश्व पर्यटन गन्तव्य स्थल प्रमाणीकरण र भारतीय पर्यटकलाई पुनौराधाममै केन्द्रित गर्ने ध्येय देखिन्छ । पुनौराधाम माता जानकीको प्राकट्य स्थल रहेको मिथक छ । यसलाई प्रमाणीकरण गर्ने खोज एवं पुरातात्विक आधार नभएको अवस्थामा भारत सरकारको यो परियोजनाले भविष्यमा जनकपुरधाम आउने भारतीय पर्यटकको मनोभावलाई परिवर्तन गर्ने र यसको प्रतिकूल प्रभाव जनकपुरधामलाई पर्ने संशय उत्पन्न भएको देखिन्छ ।

जनकपुरधाम बिना भारतको धाम र भगवान राम पनि अधुरो रहने यथार्थताको पृष्ठभूमिमा समृद्ध सांस्कृतिक विविधता अन्तर्गत जनकपुरधाम र भारतबीच सामाजिक , सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार, तीर्थाटनको प्रवद्र्धन गर्ने रामायण सर्किटको चर्चा परिचर्चा भइरेको बेला पुनौराधाम विकास परियोजना तीर्थाटन सूत्र विपरीत रहेको साधुसन्तहरु बताउँछन् ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा अयोध्या र जनकपुधामको धार्मिक तथा सांस्कृतिक विकासका लागि गरिएको सम्झौता विपरीत पुनौराधाम विकास परियोजना संस्कृतिको जीवन मार्गलाई कमजोर बनाउने संकेत गरिरहेको डा. भोगेन्द्र झाको भनाइ छ । डा. झाका अनुसार नेपालमा जन्मेका गौतम बुद्धको बारेमा पनि भारत सरकारले विगतमा नक्कली तिलौराकोट निर्माण गरी भ्रम सृजना गरेको हुनाले यसप्रति सजग हुनुपर्ने यथेस्ट आधारहरु रहेका छन् । डा. झाले भने, ‘जनकपुरधामलाई अहिलेसम्म पनि ऐतिहासिक धार्मिक महत्वका रुपमा स्वीकार नगरी मात्र क्रीडास्थलका रुपमा भारतले जिकिर गर्दै आएका कारण उनीहरुको नियत प्रस्ट रहेको हुनाले यसको दोषी यहाँका मठाधीश र नेताहरु रहेको छन् ।’ उनले अघि थप्दैँ भने, ‘सुगौली सन्धी अघिसम्म पुनौराधाम नेपालकै भूमि हो । तथापि जनकपुरधामवासीहरुले आफ्नो धार्मिक पुरातात्विक तथा पौराणिक महत्वको संरक्षण संवद्र्धन नगरेका कारण यहाँको अस्तित्व संकटमा परेको छ । यहाँको मानिसहरु पनि मौन छन् ।’

भारतीय सरकार पुनौराधामलाई तिरुपति मन्दिर जस्तो बनाउने लक्ष्यसहित ५०० एकड जग्गा अधिग्रहण, अयोध्या–सीतामढी रेल विस्तार योजना कार्यान्वयनतर्फ अग्रसर छ जसको उद्देश्य मिथिलाको संस्कृति तथा धरोहरलाई संरक्षण, प्रवद्र्धन गर्ने उल्लेख गरिएको छ । साधुसन्तको खोजी भइ प्राप्त जनकपुरधामको श्रेय चतुर्भुज गिरी र सूरकिशोर दासलाई मानिन्छ ।

यिनीहरु आएको समयलाई सत्रौँ शताब्दीको अन्ततिरको समय मानिछ । अतीतको गौरवगाथा बोकेको मिथिला, जनकपुरधाम अति प्राचीन रहेको छ । यसको प्राचीनता उजागर गर्ने स्रोतहरुमा वेद, उपनिषद् लगायतका ग्रन्थहरु भएको अवस्थामा जनकपुरधामको गौरवगाथा, दुई महान संस्कृतिको मिलन स्थलको अस्तित्वलाई औचित्यहीन गर्ने ध्येय समृद्ध सांस्कृतिक विविधतामाथि नै शंकाको मार्ग प्रशस्त गरिरहेको छ ।

भारत सरकारले पुनौराधामलाई भगवान राम र सीताको जीवनसंग परिभाषित गरी पर्यटकको ध्यान केन्द्रित गर्ने अभियान सञ्चालन गर्नेतर्फ प्रयास गरिरहेको बेलामा पनि जनकपुरधामका जानकी मन्दिर महन्त रामतपेश्वर दास, उत्तराधिकारी रामरोशन दासलगायतका साधुसन्त एवं कतिपय स्रष्टा, कलाकारले पुनौराधामलाई नै जानकी जन्म स्थल भनि अभिव्यक्ति, भक्तिभाव प्रदर्शनले आगामी दिनमा जनकपुरधाममा भारतीय पर्यटकको ओइरोमा प्रतिकूल प्रभाव पर्ने यहाँका पर्यटन व्यवसायीहरु बताउँछन् ।

उद्योग वाणिज्य संघ मधेश प्रदेश उपाध्यक्ष जितेन्द्र महासेठले पुनौराधाममा निर्माण गरिने मन्दिरले जनकपुरधाममा प्रतिकुल असर पर्न नदिनका लागि यहाँका सचेत नागरिकले व्यापकरुपमा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताए । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले पुनौराधाममा जानकी जन्मभूमि सिद्धका लागि विभिन्न परियोजना कार्यान्वयनबाट जनकपुरधामलाई कुनै पनि प्रभाव नपर्ने दाबी गरेका छन् ।

जानकी र रामबाट जोडिएका जन्मस्थलदेखि वैवाहिक पौराणिक ऐतिहासिक स्थलहरु धनुषाको विभिन्न ठाउँमा छरिएर रहेकाले भारतीय पर्यटकहरुलाई जनकपुरधाम आउनै पर्नेमा उनी ढुक्क छन् । जनक सत्य हो भने जनकपुरधाम पनि सत्य हो, जनकपुरधाम शब्दले राजर्षि जनकको निवास स्थललाई नै बोध गराउँछ, तर वर्तमानको जनकपुर राजर्षि जनकको निवास स्थल हो कि अन्य स्थानमा छ, त्यसको खोज हुनु आवश्यक छ । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पुनौराधामलाई भारत सरकारले विकास गरेमा आउने दिनमा जनकपुरधामको पर्यटकको आवागमनमा समेत नकारात्मक असरसंगै व्यवसायमा समेत सुक्ने बताए ।

The post अस्तित्वको संकटमा जनकपुरधाम : एक दशक भित्रै भारतीय पर्यटक आगमन सुक्ने ! appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/28/100389/