आज तिहारको मुख्य दिन : भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालीहरूको दोस्रो महान चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदै छ। दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै आज श्रद्धा र आस्थाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिन्छन्। यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।

दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाएपछि, दाजुभाइहरूले पनि आफ्ना दिदीबहिनीलाई टीका लगाउने परम्परा छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ।

पञ्चांग निर्णायक विकास समितिका अनुसार भाइटीकाको लागि आज बिहान ११:३७ बजेको अभिजित् मुहूर्त विशेष उत्तम रहेको छ। यसवर्ष भाइटीका लगाउँदा दिदीबहिनी पूर्वतर्फ र दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने सुझाव दिइएको छ। जसले शुभ फल दिने विश्वास गरिन्छ।

टीका लगाउने परम्परामा दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले घेरासाथ मखमली, सयपत्री, गोदावरी फूलका माला सहित सप्तरंगी वा पञ्चरंगी टीका लगाइदिन्छन्। टीका लगाइसकेपछि ओखर, कटुस, मरमसला, सेलरोटी लगायतका परिकार दिने प्रचलन छ भने दाजुभाइले दिदीबहिनीलाई कपडा र दक्षिणा दिएर सम्मान प्रकट गर्ने सामाजिक परम्परा रहेको छ।

 

 

The post आज तिहारको मुख्य दिन : भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/494655/