काठमाडौंमा भ्रष्टाचारीहरुको जुलुश निस्किन्छः विप्लप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकमा भ्रष्टाचार बढदै गएको टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सहकारी ठगी प्रकरणमा पक्राउ गरी अनुसन्धान भईरहेका सभापति रवि लामिछाने जन्मिदै गर्भबाटै भ्रष्टाचार बोकेर आएको टिप्पणी गर्दै उनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई ‘गँजेडी’को संज्ञा दिएका छन् ।

पार्टी पुनर्गठन ११ वर्षमा प्रवेश गरेको अवसरमा शनिबार काठमाडौंमा र्याली पश्चात आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘केही नयाँ पार्टी छन्, जो गर्भबाटै भ्रष्टाचार बोकेको छ । एड्स रोगीबाट जन्मिएका सन्तानजस्तो । कोही मान्छे गँजेडी छन्, नायकजस्तो बनेका छन् । उनीहरु जनसेवक अरे, अनि हामी को ?’ विप्लवले प्रश्न गर्दै भने ।

मुलुक भ्रष्टाचारले आक्रान्त बनेको बताउदै उनले पूराना दलका नेताहरुले भ्रष्टाचार’bout दिनदिनै प्रष्टीकरण दिनुपरेको बताए । नयाँ दल रास्वपापनि त्यसबाट अछुतो नभएको उनले बताए । काठमाडौंमा एमालेले शुक्रबार गरेको जागरणसभालाई इंगित गर्दै उनले काठमाडौंमा भ्रष्टाचारीहरुले जुलुश निकाल्ने र भ्रष्टाचारीको भाषण सुन्नुपर्ने बाध्यता रहेको बताए ।

‘अहिले नेपालमा भ्रष्टाचारको महारोग छ । कोरोना भाइरसजस्तै फैलिएको छ । काठमाडौंमा भ्रष्टाचारीहरुको जुलुश निस्किन्छ । भ्रष्टाचारीहरुको डण्डा बर्सिन्छ । भ्रष्टाचारीहरुको भाषण सुन्नुपर्छ । देशमा अहिले मजाक हेर्नुपरेको छ । उनीहरु मैले विदेशमा पैसा लुकाएको छैन् भनेर प्रष्टीकरणमात्रै दिन्छन् । समाजमा अहिले भ्रष्टाचारको आतंक छ’ विप्लवले भने, ‘हिजो प्रचण्डजीको सरकार हुँदापनि उहाँ सरकार ढल्दैन भन्नुहुन्थ्यो, अहिले केपीजीको सरकार छ, उहाँपनि सरकार ढल्दैन भन्दैहुनुहुन्छ । तर जनतालाई के लागेको छ भने यो सरकार आजै ढल्छ । राति ढल्नसक्छ, भोलि विहान ढल्छ भन्ने लागेको छ । अहिले कोही मान्छे सन्तुष्ट छैनन् ।’

– रास्वपा र रवि जन्मिदै गर्भबाटै भ्रष्टाचार बोकेर आएको

– काठमाडौंका मेयर बालेन शाह ‘गँजेडी’

उनले आफ्नो पार्टी स्थापनाको औचित्य पुष्टि हुँदै गएको दावी गरे । ‘नेकपा यहाँ पुग्छ भन्ने कसैलाई पनि विश्वास पनि थिएन होला । तर, अहिले सबै अचम्मित छन् । नेकपाको फरक दृष्टिकोण छ । यो लडाईं थियो । हामी सबै माओवादी नै हौं । यो देशमा रगत बगाएका हौं । हामी लडेर आएका हौं । हामी देशभक्त हौं । नेकपा जनताको हितको लागि बनेको हो’ माओवादीबाट बिभाजन भई गठन गरेका नेकपाका महासचिव विप्लवले भने ।

उनले आफूहरुले चाहेको व्यवस्था अहिलेसम्म नआएको बताए । ‘२०६४ सालपछि हामी नयाँ जीवन चाहन्थ्यौं । माओवादीले जुन दिन विजयी हाँसिल गर्नेछ, जनताले विजयी हाँसिल गर्नेछ । जनताको अनुहारमा मुस्कान छाउनेछ । रगतलाई गौरवको रुपमा बुझ्नेछ । मसिर ८ गते जनमुक्ति सेना बनेको दिन हो । नेपालमा सुकुम्बासीको अन्त्य भएको हेर्न चाहन्थ्यौं । जनजातिहरु सत्तामा पुगेको हेर्न चाहन्थ्यौं’ उनले भने, ‘युवाहरुले नेपालमै बसेर देश बनाएको हेर्ने हो । २१औं शताब्दीमा जनयुद्ध लडेका युवाहरु यही देशमा बस्नुपर्छ । गणतन्त्रलाई ठूलो उपलब्धिको रुपमा हेर्नुपर्छ । जनताका अधिकार पनि प्राप्त भए । तर, जनताको जीवनमा परिवर्तन भएन । नेपाल देश स्वाधिन भएन । क्रान्तिले पूर्णता पाउन सकेन । नेपाली जनताको व्यवस्था बन्न सकेन । क्रान्ति अधुरो भयो । अधिकार अधुरो भयो । नौजवानले आफ्नो भविष्य अन्धकार भएको महशुस गरे । हाम्रा मान्छेहरुलाई अपमानित हुन दिनुहुँदैन् ।’

उनले अहिले मुलुक दलाल पुँजीपतिहरुको कब्जामा परेको आरोप लगाए । यहाँ रातारात भित्रिएका खर्बपतिहरुको दमन चलेको बताउदै उनले नेपालमा अहिले केही हुँदैन भन्ने निराशा छाएको बताए ।

‘१७ हजार मान्छेको बलिदानपछि आउने व्यवस्था यस्तै हो ? संसद्मा समेत बलिदान गर्ने, क्रान्ति गर्नेहरुमाथि, खिल्ली उडाउने काम भएको छ । जसले परिवर्तन गर्यो, बलिदान, क्रान्ति गर्यो उ चाहीँ अपमानित हुनुपर्ने ? दलाल पुँजीपतिहरुको सत्ताले यो हालत भयो । यो देशमा भोकै मर्न तयार हुनुपर्छ । यो देश दलालहरुको हातमा सुम्पिएर विदेश जानुहुँदैन् । तराईका खेतसँग खेल्ने हो । दलाल पुँजीपतिहरुले केही समय जितेका छन् । त्यो भ्रम हो । नेकपा छ, जनयुद्ध लडेका युवाहरुको नेकपा छ । नेपाली जनताहरुको व्यवस्था बनेको छैन् । हामीले चाहेको राज्य बनेको छैन् । हामीले बनाउनैपर्छ । जनताका बीचबाट पलायन हुने होईन । जनताको बीचमा बस्नुपर्छ’ उनले भने ।

सुनधाराबाट निष्केको र्याली रत्नपार्क, बागबाजार हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । विप्लव नेतृत्वको नेकपाले पछिल्लो समयमा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरिसकेको छ । तर, हालसम्म एकता हुन सकेको छैन । माओवादी केन्द्रले संस्थागत निर्णय नगर्दा एकता प्रक्रिया अड्केको छ । माओवादी केन्द्रले केन्द्रीय समितिको बैठकबाट नेकपासँग एकता गर्ने निर्णय गरेपछि मात्र एकता हुने बताइएको छ ।

केन्द्रीय समिति बैठक बस्नुअघि माओवादीले पदाधिकारी, स्थायी समिति र प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श बैठक बसेर छलफल गरेको छ । माओवादीले केन्द्रीय समितिको बैठकबाट एकता गर्ने निर्णय गरेको छैन । आगामी २ पुसमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै छ । सोही बैठकबाट माओवादी केन्द्र र विप्लव बीचमा पार्टी एकता हुने वा नहुने भन्ने टुंगो लाग्ने बताइएको छ ।

The post काठमाडौंमा भ्रष्टाचारीहरुको जुलुश निस्किन्छः विप्लप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104363/