धनाढ्यको अनौठो बानी
विश्वप्रसिद्ध उद्योगी व्यवसायीहरूको व्यवसायबारे धेरैलाई जानकारी छ। तर, उनीहरूसँग सम्बन्धित रोचक तथा अनौठा कुरा धेरैलाई जानकारी नहुन सक्छ। तसर्थ, विश्वप्रसिद्ध उद्योगी व्यवसायीसँग सम्बन्धित रोचक तथ्यबारे यहाँ चर्चा गरिएको छ। जसको जीवन संघर्ष, जोस र दृष्टिकोणले संसारभरका लाखौं मानिसलाई प्रेरणा दिइरहेको छ।
एलन मस्क
टेस्ला र सामाजिक सञ्जाल एक्सका मालिक एवम् विश्वका धनाढ्यमध्येका एक एलन मस्कले पृथ्वीबाहिर मानवबस्ती बसाल्ने लक्ष्य राखेका छन्। उनको कम्पनी स्पेस एक्सको उद्देश्य मंगलग्रहमा मानवलाई बसोबास गराउनु हो।
पहिलो व्यवसाय उनले १२ वर्षको उमेरमा आफ्नै भिडियो गेम बनाएका थिए, जुन उनले पाँच सय डलरमा बेचेका थिए।
मस्कको अनौठो काम गर्ने शैली रहेको छ। उनले हप्तामा ८०–१०० घण्टा काम गर्ने गर्छन्। एकै समयमा विभिन्न परियोजनालाई व्यवस्थापन गर्न पनि उनीसक्षम छन्।
जफ बेजोस
‘अमेजन’नामक विश्वभर अनलाइन व्यवसायको साम्राज्य विस्तार गर्न सफले जफ बजोसले संसार जित्ने सपना देख्छन्। अमेजनको शुरुआत आफ्नो घरको ग्यारेजबाट गरेका थिए। बेजोस सधैं ग्राहकको आवश्यकता र सन्तुष्टिलाई प्राथमिकता दिन्छन्। उनले अमेजनका बैठककक्षहरूमा खालि कुर्सी राख्ने चलन बनाएका छन्, ती खालि कुर्सीले ग्राहकको प्रतिनिधित्व गर्दछ। उनले आफ्नो कम्पनीको नाम अरू नै राख्न चाहेका थिए, जुन हाल अमेजनको वेबसाइटमा रिडाइरेक्ट हुन्छ।
वारेन बफेट
विश्वकै धनी व्यक्ति भएर पनि सादा जीवनशैलीका कारण प्रशंसा कमाएका शेयर बजारका बादशाह वारेन बफेट अझै पनि सन् १९५८ मा खरिद गरेको साधारण घरमा बस्छन्। उनले दिनमा ८० प्रतिशत समय किताब र विभिन्न कम्पनीको रिपोर्ट पढ्नमा बिताउँछन्। उनले ११ वर्षको उमेरमा पहिलोपटक शेयर खरिद गरेका थिए र त्यति बेलादेखि निरन्तर लगानीको महत्वको वकालत गर्दै आएका छन्।
मार्क जुकरबर्ग
विश्वभर लोकप्रिय रहेको सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकका सञ्चालक मार्क जुकरबर्ग सामान्य पोसाकका कारण चर्चामा छन्। उनले सधैँ ग्रे टिसर्ट लगाउने गर्छन्, ताकि निर्णयमा ऊर्जा खेर नजाओस् भन्ने उनको उद्देश्य छ। उनले फेसबुकको परिकल्पना होस्टलको कोठाबाट शुरू गरेका थिए। जुकरबर्गले हरेक वर्ष एउटा नयाँ सीप सिक्ने प्रतिबद्धता लिएका छन्।
विल गेट्स
माइक्रो सफ्टका सञ्चालक विल गेट्सले १३ वर्षको उमेरमै पहिलो कम्प्युटर प्रोग्राम बनाएका थिए। उनले बनाएको प्रोग्राम टिक–ट्याक–टो खेल थियो, जसले मान्छेसँग प्रतिस्पर्धा गथ्र्याे। अर्बपति भए पनि गेट्स आफ्ना बच्चालाई साधारण जीवन जिउन प्रोत्साहन गर्छन्। उनले आफ्ना बच्चाका लागि सीमित सम्पत्तिमात्र छोड्ने घोषणा गरेका छन्। उनले हरेक वर्ष झन्डै ५० पुस्तक पढ्छन्। गेट्स आफ्नो अफिसमा आफैं कफी बनाउन रुचाउँछन्। गेट्सले आफ्नो अधिकांश सम्पत्ति दानमा लगानी गर्ने बाचा गरेका छन्।