नयाँ दिल्लीमा पानी मात्र उत्सर्जन गर्ने हरित हाइड्रोजन बसको शुभारम्भ
काठमाडौँ । २१ अक्टोबर २०२४ मा भूटानी प्रधानमन्त्री छिरिङ तोब्गेले भारत भ्रमणका क्रममा एक विशेष अनुभव लिए, पानी मात्र उत्सर्जन गर्ने हरित हाइड्रोजन बसमा यात्रा गर्दै । भारतीय पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले हालै नयाँ दिल्लीमा भारतको पहिलो हरित हाइड्रोजन इन्धन-सेल बसको अनावरण गरे । उनले भने, ‘हाइड्रोजन प्रविधिको प्रयोगले भारतको हरित ऊर्जाको यात्रा क्रान्तिकारी बन्नेछ ।’
यो इन्धन–सेलले हाइड्रोजन र हावाबाट विद्युत् उत्पन्न गर्छ, जसले बसलाई सञ्चालन गर्छ र यसबाट पानीबाहेक कुनै प्रदूषक तत्व उत्सर्जन हुँदैन। डीजल र पेट्रोलमा चल्ने परम्परागत बसहरू भन्दा यो बस वातावरणमैत्री छ । अनावरणपछि पुरी र भूटानी प्रधानमन्त्री तोब्गेले बसमा यात्रा गरे। त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस बसलाई भविष्यका पुस्ताहरूका लागि हरित र दिगो भविष्य निर्माण गर्ने प्रयासको एक भागको रूपमा स्वागत गरे ।
प्रधानमन्त्री मोदीले ह् मा लेखे, ‘प्रधानमन्त्री छिरिङ तोब्गेले हरित हाइड्रोजन इन्धन–सेल बसमा यात्रा गर्नु प्रसन्नतादायी कुरा हो। यस्तो बस हाम्रो दिगोपन बढाउने र भविष्यका पुस्ताहरूका लागि हरित भविष्य निर्माण गर्ने प्रयासको एउटा हिस्सा हो ।’
हरीदीप सिंह पुरीले उद्घाटन कार्यक्रममा भने, ‘अगामी दुई दशकमा हाइड्रोजन र बायोफ्युलजस्ता उदीयमान इन्धनले विश्वव्यापी ऊर्जा मागको २५ प्रतिशत आपूर्ति गर्नेछन् ।’
भारत जस्तै तीव्र गतिमा विकास भइरहेका देशहरूले हरित ऊर्जामा आधारित भविष्यको परिकल्पना गर्दै हरित हाइड्रोजन बसको शुभारम्भ गरेका छन् । यो परियोजनाले भारतको प्राविधिक क्षमता मात्रै नभई सन् २०७० सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने प्रतिबद्धता पनि झल्काउँछ, जुन मोदीले ग्लास्गोको ऋइएद्दट शिखर सम्मेलनमा व्यक्त गरेका थिए ।
हरित हाइड्रोजन, जुन वायु र सौर्य ऊर्जाबाट उत्पादित हुन्छ, स्वच्छ ऊर्जा विकल्पको रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ । परम्परागत हाइड्रोजन, जुन जीवाश्म इन्धनबाट निकालिन्छ र ग्रीनहाउस ग्यास उत्सर्जन गर्छ, विपरीत हरित हाइड्रोजन पानीको विद्युतीय अपघटनबाट उत्पादन गरिन्छ र कुनै प्रदूषण गराउँदैन ।
भारतका लागि हरित हाइड्रोजनले जीवाश्म इन्धनको निर्भरता घटाउन, कार्बन उत्सर्जन कम गर्न र स्वच्छ ऊर्जा प्रविधिमा विश्वव्यापी नेतृत्व हासिल गर्न ठूलो अवसर प्रदान गर्छ ।
पुरीले बसलाई शहर यातायातको क्षेत्रका लागि ‘गेम चेन्जर’ भनेर उल्लेख गरे र भने, ‘यस परियोजनाको सफलताले भारतलाई जीवाश्म ऊर्जा आयातकबाट हरित हाइड्रोजन ऊर्जा निर्यातकको रूपमा रूपान्तरण गर्नेछ ।’
यात्रा गर्न उपयुक्त र चाँडै पुनःइन्धन गर्न सकिने भएकाले हाइड्रोजन-चालित इन्धन-सेल बसहरू लामो दूरीको यात्राका लागि आदर्श हुन् । यो बसले हावाबाट अक्सिजन र हाइड्रोजन मिलाएर विद्युत् उत्पादन गर्छ, जसले बसलाई सञ्चालन गर्छ र पानीबाहेक कुनै उत्सर्जन हुँदैन । बसलाई १०-१५ मिनेटमै पुनःइन्धन गर्न सकिने भएकाले यसले डीजल बसहरू बराबरको सञ्चालन दक्षता प्रदान गर्छ । प्रदूषणको समस्या झेलिरहेको नयाँ दिल्लीमा यस्तो हरित विकल्पको प्रयोगले वायु प्रदूषण घटाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
यो परियोजना भारतको राष्ट्रिय हाइड्रोजन मिसनसँग पनि मेल खान्छ, जसको घोषणा सरकारले २०२१ मा गरेको थियो। यस मिसनले भारतलाई हरित हाइड्रोजन उत्पादन र निर्यातको वैश्विक केन्द्र बनाउन लक्ष्य राखेको छ । यद्यपि, हरित हाइड्रोजनको प्रयोगमा केही चुनौतीहरू छन्। यसको उत्पादन खर्च अझै महँगो छ, र यसको भण्डारण र यातायातको लागि आवश्यक पूर्वाधार विकास प्रारम्भिक चरणमै छ । देशभर हाइड्रोजन इन्धन स्टेशनहरू स्थापना गर्नु ठूलो आर्थिक र प्राविधिक चुनौती बन्न सक्छ ।
तर, भारतका नीतिहरू र महत्वाकांक्षी लक्ष्यहरूले उद्योग र साझेदारहरूमा आत्मविश्वास बढाएका छन्। सन् २०२२ मा प्रस्तुत गरिएको हरित हाइड्रोजन नीतिले स्वच्छ ऊर्जा परियोजनाहरूमा लगानीलाई प्रोत्साहन दिने लक्ष्य राखेको छ । सरकारको प्रयासले हाइड्रोजन केवल यातायात क्षेत्रमा मात्र नभई इस्पात उत्पादन र अन्य उद्योगहरूमा पनि प्रयोग बढाउन मद्दत गर्नेछ । हरित हाइड्रोजन बस परियोजनाले हरित ऊर्जा प्रविधिमा भारतको परिवर्तनशील भूमिकालाई उजागर गर्दछ, जसले भविष्यमा विश्व बजारमा हरित ऊर्जा निर्यातका लागि मार्ग प्रशस्त गर्न सक्छ ।