नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै इटहरीका १० परिवार

काठमाडौँ । इटहरी उपमहानगरपालिका-३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुख्र्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरेका छन् ।

सोही स्थानका वसन्त राई दुई दशकदेखि नाङ्लो बुन्दै आएका छन् । भोजपुर होम्ताङका उनको व्यवसाय नै नाङ्लोको व्यापार हो । नाङ्लो बेचेर उनले घरव्यवहार चलाउँदै आएका छन् । इटहरी सुनौलो बस्तीमा होम्ताङबाट आएका राई जातिको बाहुल्य छ भने सबैको आम्दानीको स्रोत नै नाङ्लोे बुन्ने र बेच्ने भएको छ । उनले तालतलैया, खोर्सानेघाटबाट बाँस ल्याउने गरेका छन् भने केही आफैँले पनि रोपेका छन् । उनले दैनिक १० वटासम्म नाङ्लो बुन्ने गरेको बताए ।

एक पटकमा दुई सय वटासम्म बिक्रीका लागि नाङ्लो लैजाने गरेको तथा महिनामा रु २० देखि २५ हजारसम्मको नाङ्लो बिक्री गर्दै आएको उनले बताएका छन् । एउटा नाङ्लो रु एक सय ५० देखि दुई सयसम्ममा बिक्री हुने गरेको छ ।

नाङ्लो विशेषगरी असोज-कात्तिकमा धेरै बिक्री हुने गरेको र यसको कमाइले घरखर्च पुगेको अर्का उद्यमी विक्रम राईले बताएका छन् । उनले ग्राहकको मागअनुसार नाङ्लो बनाउने गरेको बताए । उनका अनुसार धरान, विराटनगर, पथरीलगायत क्षेत्रका ग्राहकले नाङ्लो माग गर्दै आएका छन् ।

नाङ्लो व्यवसायी कोपिला राई बजारमा नाङ्लोको माग बढे पनि मूल्य यथावत् रहेको बताउँदै अब लागतअनुसार दाम पनि बढाउन आवश्यक भएको बताउँछिन् । पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आएका विक्रम राईले महिनामा दुई सयभन्दा बढी नाङ्लो बेच्ने गर्छन् ।

नाङ्लो बनाउने बाँस पाउन गाह्रो भएको एउटा सिङ्गो बाँस रु दुई सयसम्म पर्ने गरेको जानकारी दिँदै उनले एउटा बाँसबाट १० वटासम्म नाङ्लो बनाउन सकिने बताए । ‘आफ्ना उत्पादन बोकेर गाउँ डुल्नु पर्दैन, घरमा नै आएर व्यापारीले लैजान्छन् । मेहनतअनुसारको कमाइ हुन्छ ।’, उनले भने ।

Source : https://arthasarokar.com/2024/10/nanglo.html