नेपाल बाहेक यी देशमा पनि मनाइन्छ दिपावली

दशैँपछि तिहार हामी नेपालीहरुको ठूलो चाड हो । यमपञ्चकको रुपमा तिहार काग, कुकुर, गाई अर्थात् लक्ष्मी पूजा, गोबद्र्धन र भाई टीका गरी पाँच दिन मनाइने गरिन्छ । तिहारमा घर घरमा फूलको मालाले सजाएर बत्ती बाल्ने भएकाले यसलाई फूल र बत्तीको झिलिमिली चाडका रुपमा पनि लिने गरिन्छ ।

तिहारसम्बन्धि आफ्नै किम्बदन्ती र मान्यताहरु पनि छन् । तर, तिहार नेपालमा मात्रै नभई विश्वका विभिन्न देशहरुमा दिवालीको रुपमा मनाइने गरिन्छ । नेपालसँगै भारत, अमेरिका, क्यानाडा, मलेसिया, श्रीलंकालगायत विश्वका विभिन्न देशमा दिपावली भव्य रुपमा मनाउने गरिन्छ । आज हामी तपाईंलाई ती देशहरुको बारेमा जानकारी दिने छौँ ।

भारत : भारतमा तिहारलाई एउटा महत्त्वपूर्ण चाडका रुपमा लिने गरिन्छ । यहाँ तिहारको आफ्नै रौनक र मान्यता रहेको छ । भारतमा तिहारलाई दिपावलीका रुपमा मनाइने गरिन्छ । भारतमा यमपञ्चक शुरु हुने दिन अर्थात् काग तिहारको दिन धनतेरश मनाइने गरिन्छ । यो दिन भारतमा नयाँ भाँडा किन्नु शुभ मानिन्छ । भारतमा दिपावलीका अवसरमा विभिन्न ठाउँमा मेला पनि लाग्ने गर्छ । भारतीय नागरिकहरुले दिपावलीमा आकर्षक रङ्गौलीहरुसमेत बनाउने गर्छन् । दिपावलीमा आफन्त तथा साथीहरुलाई मिठाइ तथा उपहार प्रदान गर्नुका साथै रमाइलो पनि गर्ने गर्छन् ।

न्यूजिल्याण्ड : न्युजिल्याण्डमा पनि तिहारलाई दिपावलीको रुपमा मनाइने गरिन्छ । पछिल्लो समय यहाँ विभिन्न देशका हिन्दु धर्मावलम्बीहरु रोजगारसँगै अध्ययनका लागि जाने गरेका छन् । उनीहरुलाई आफ्नो परम्परा र संस्कृति अनुसार दिपावली मनाउँदै आएका छन् ।

श्रीलंका : श्रीलंकामा तमिल समुदायले दिपावलीलाई विशेष चाडका रुपमा मनाउने गर्छन् । यसबेला उनीहर विभिन्न मन्दिरमा गएर पूजाआजा गर्ने गर्छन् । श्रीलंकामा तेलले स्नान गर्ने, मिठाइ वितरण गर्ने, विभिन्न खेल खेल्ने, आतिसबाजी, गायन, नृत्यलगायत भोजको आयोजना गर्ने गरिन्छ । यहाँ पनि धनकी देवी लक्ष्मीलाई तेलको दियो बालेर आराधना गर्ने गरिन्छ ।

मलेसिया : मलेसियामा ‘हरि दिपावली’ का रुपमा तिहार मनाइने गरिन्छ । दुष्टका विरुद्ध सज्जनले विजयी प्राप्त गरेको उपलक्ष्यमा मलेसियामा दिपावली मनाउने गरिन्छ । मलेसियामा पनि फूल तथा तेलको दियोले घर सजाउने गरिन्छ । दिपावलीको अवसरमा यहाँ मेला लाग्ने गर्छ । दिपावलीको अवसरमा यहाँ विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि हुन्छन् ।

म्यानमार : दिपावलीको अवसरमा म्यानमारमा बुद्धको मन्दिरमा दिपावली र आतिसबाजी गर्ने प्रचलन रहेको छ । यहाँ बुद्धका मन्दिरहरुमा मेला लाग्नुका साथै बत्ती पनि बाल्ने गरिन्छ । साथै यहाँ विभिन्न कार्यक्रम गरी खुसीयाली साटासाट गर्ने गरिन्छ ।

थाइल्याण्ड : थाइल्याण्डमा पनि भव्य रुपमा दिपावली मनाउने गरिन्छ । यहाँ अनिश्चितताबीच जीवनलाई निरन्तरता दिएको विश्वाससहित दिपावली मनाउने गरिन्छ । यहाँ केराले बनेको दियोमा मैनबत्ती, सिक्का तथा ध्रूप राखेर दिपावली गर्ने चलन रहेको छ ।

सिंगापुर : सिंगापुरमा तमिल समुदायले दिपावली मनाउने गर्छन् । दिपावलीमा यहाँ सार्वजनिक बिदा दिने प्रचलनसमेत रहेको छ । यहाँ विभिन्न कार्यक्रम आयोजना गरिन्छ । सिंगापुरबासीले उत्सवको रुपमा दिपावली मनाउने गर्छन् ।

अमेरिका : अमेरिकामा पनि दिपावलीलाई महत्वपूर्ण पर्वका रुपमा मनाइने गरिन्छ । नेपाल भारतलगायत विभिन्न मुलुकका हिन्दु धर्मावलम्बीहरु यहाँ रोजगारको लागि जाने गरेका छन् । ती व्यक्तिहरुले तिहार धुमधामका साथ मनाउने गर्छन् । अमेरिकामा मनाइने तिहारमा यहाँ विभिन्न उच्च पदका नेताहरुसमेत रमाउने गर्छन् ।

इन्डोनेसिया : इन्डोसियामा बस्ने हिन्दु धर्मावलम्बीहरुले तिहार मनाउने गर्छन् । यहाँ धुमधामका साथ दिपावली मनाउने गरिन्छ । इन्डोनेसियामा बिहान तेलले स्नान गरेर नयाँ लुगा लगाउन, उपहार आदानप्रदान गर्ने गरिन्छ । यसका साथै विभिन्न मन्दिरमा पूजाआजा पनि गर्ने प्रचलन रहेको छ ।

अष्ट्रेलिया : नेपालीसँगै भारतीय र विभिन्न देशको नागरिकको रोजाइको रुपमा अष्ट्रेलिया पर्दै आएको छ । त्यसैले अध्ययन तथा रोजगारीको लागि अष्ट्रेलिया जानेको संख्या पछिल्लो समय बढ्दै गएको छ । यहाँ गएका हिन्दु धर्मावलम्बीहरुले तिहार चाड मनाउने गर्छन् । यहाँका विभिन्न शहरमा तिहार भव्य रुपवमा मनाउने गरिन्छ । यहाँ एक सातासम्म घरमा तथा व्यापारिक भवनहरुलाई सजाएर झिलिमिली पारिन्छ ।

जर्मनी : जर्मनीमा पनि दिपावली मनाउने गरिन्छ । यहाँ क्रिश्चियन समुदायको बाहुल्यता रहेको छ । तर पनि सु–स्वास्थ्य तथा दीर्घायुको कामना गरी दिपावली मनाएर मेला लाग्ने गर्छ ।

चीन : चीनमा पनि दिपावली पर्व मनाइने गरिन्छ । यहाँ दिपावलीलाई ‘नेइ महुआ’ भनेर मनाइन्छ । दिपावलीको दोस्रो दिनदेखि यहाँ नयाँ सम्वत् शुरु हुन्छ । त्यसैले गैर हिन्दूहरुले फरक तरिकाले दिपावली मनाउने गर्छन् । दिपावलीलाई चीनमा प्रकाश पर्वको रुपमा लिने गरिन्छ । यो बेला विभिन्न परिकार पकाएर खाने गरिन्छ ।

फिजी : फिजीमा पनि दिपावली मनाइने गरिन्छ । यहाँ दिपावलीको समयमा सार्वजनिक बिदा पनि दिने गरिन्छ । उनीहरु दिपावलीलाई भव्य रुपमा मेला गरी मनाउने गर्छन् ।

क्यानाडा : क्यानाडामा दिपावलीलाई भव्य रुपमा मनाइने गरिन्छ । यहाँ परम्परागत रुपमा मनाउने प्रचलन रहेको छ । यहाँका मानिसहरुले एक अर्कामा खुसी साटासाट गरि दिपावली मनाउने गर्छन् ।

The post नेपाल बाहेक यी देशमा पनि मनाइन्छ दिपावली appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/494248/