नेपाली सेनाको उदयपुरगढी पदयात्रा

उदयपुर। 

 ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सघाउने उद्देश्यले नेपाली सेनाले उदयपुरगढी पदयात्रा गरेको छ । 

नेपाली सेनाको पशुपति प्रसाद गणको आयोजनामा उदयपुरगढी गाउँपालिकाको नेपालटार बजार देखी उदयपुरगढी दरबार सम्मको पदयात्रा गरेको हो । 

नेपाली सेना १८ नम्बर बाहिनीपति सहायक गौरव गुरुङ, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रहरी उपरीक्षक हरीहरनाथ योगी, सशस्त्र प्रहरी उपरीक्षक सरोज बस्नेत लगायतको ६० जनाको टोलीले ऐतिहासिक उदयपुरगढी परिसरसम्म ८ किलोमिटर भन्दा बढी  पैदल यात्रा गरेको थियो ।  

उदयपुरगढीको इतिहास र सो क्षेत्रमा जाने पदमार्गको संरक्षण गरी  आगामी पुस्तालाई समेत ऐतिहासिक क्षेत्रको महत्वको सन्दर्भमा जनचेतना दिन पदयात्रा गरिएको नेपाली सेनाका पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी शिव प्रसाद वाग्लेले बताए । 

समुद्री सतहदेखि ११ सय ६० मिटरको उचाइमा पर्ने उदयपुरगढीमा विस १३८२ मा उदयचन्द्र नाम गरेका सेनवंसी राजाले शासन गरेको कुरा इतिहासमा पाइन्छ । उनै उदयचन्द्र सेनको नामबाट उदयपुर जिल्ला रहन गएको किंवदन्ती रहेको छ । 

नेपाली सेनाले विभिन्न समयमा पदयात्रा गर्दै आएको छ । नेपाली सेनाको नीति तथा कार्यक्रममा समावेश भएबमोजिम ऐतिहासिक एकीकरण पदमार्ग तथा किनलक पदमार्गमा पदयात्रा गर्ने कार्यक्रम सेनाले राख्दै आएको छ । 

Source : https://newsofnepal.com/2024/10/31/676230/