पुर्व सैनिक विष्फोटक पदार्थसहित पक्राउ

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका ४ का नेपाली सेनाबाट अवकास गोविन्द पुरी विष्फोटक पदार्थ सहित पक्राउ परेका छन् । दुईबर्ष अगाडी नेपाली सेनाबाट अवकास भएका ४५ बर्षिय पुरीको घरबाट ठुलो मात्रमा बिष्फोटक पदार्थ सहित पक्राउ परेका हुन् । शनिवार घरको तेस्रोतलाबाट दोस्रो तलामा भाडाँहरु सार्नेक्रममा सकेट बम विष्फोट भएर पुरी घाइते भएका थिए ।

एक्कासी घरमा भाडाँवर्तन सार्नेक्रममा सकेटबम पड्किएर पुरी घाइते भएको खबर इलाका प्रहरी कार्यालय चापाकोटलाई पुगेपछि प्रहरी घट्नास्थलमा पुगेको थियो । प्रहरीले विष्फोटबाट घाइते भएका पुरीलाई थप उपचारका लागि पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो । उपचारपछि अस्पतालले पुरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको भन्दै घरमा पठाए सगै प्रहरीले थप अनुसन्धान गर्न उनलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरी पौडेलले जानकारी दिए ।

शनिवार साझ विष्फोट भएपछि सकेट बम हो वा अन्य कुनै बस्तु हो भन्ने बिषयमा घट्नास्थमा पुगेर अनुसन्धान नगरे सम्म जानकारी दिन नमिल्ने जनाएको प्रहरीले आइतबार घट्नास्थल पुगेर अनुसन्धान गरेको थियो । प्रहरी र नेपाली सेनाको बिशेष टोलीले अनुसन्धान गर्दा विष्फोटक पदार्थ विष्फोट भएको जनाएको छ । पुरीको घरबाट थप ठुलो परिणाममा विष्फोटक पदार्थ फेला पारेको डिएसपी पौडेलले बताए । उनका अनुसार पुरीको घरबाट बिस्फोट नभएको ९ सय ग्राम बारुद, डेटकड २ थान, जंगी राउण्ड १ थान र खाली खोका २ थान बरामद गरिएको जानकारी दिए ।

अवकास प्राप्त नेपाली सेना भएकाले बम बनाउने बारुद सहित अन्य विष्फोटक पदार्थ कहाँबाट ल्याएका हुन् भन्ने बिषय अनुसन्धान पछि खुल्ने प्रहरीले जनाएको छ । पुरीको विष्फोटबाट दायाँ आँखा भन्दा मुनी, बाँया खुट्टा र नाइटो भन्दा तल चोट लागेको थियो । उनको अवस्था अहिले सामान्य रहेको र इलाका प्रहरी कार्यालय चापाकोटले नियन्त्रणमा लिएर राखेको बताइएको छ । घाइते भएका पुरी सुनवलमा बस्दै आएको र दशैंमा टिका लगाउन घरमा आएका थिए । उक्त घरमा पुरीका बुवाआमा मात्रै बस्दै आएको बताइएको छ ।

विष्फोटक पदार्थ आफैले राखेको ठहर भएमा पुरीलाई विष्फोटक पदार्थ सम्वन्धी मुद्धा दर्ता गरी कारवाही अगाडी बढ्ने प्रहरीले जनाएको छ ।

The post पुर्व सैनिक विष्फोटक पदार्थसहित पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102497/