राष्ट्रिय पुरस्कारमा बुलाकीको ह्याट्रिक, विपिन र स्वस्तिमा उत्कृष्ट
काठमाडौं ।
सरकारले प्रदान गर्ने वर्ष २०८० को राष्ट्रिय पुरस्कार बुलाकी नामको फिल्मले पाएको छ भने वर्ष २०८० कै लागि विपिन कार्की र स्वस्तिमा खड्काले यो पुरस्कार चुमेका छन्।
वर्ष २०८० मा रिलिजमा आएका फिल्म र तिनका कलाकार तथा प्राविधिकलाई पुरस्कृत गर्न चलचित्र विकास बोर्डद्वारा बुधबार महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१ मा बुलाकीलाई उत्कृष्ट फिल्मको पुरस्कार प्रदान गरिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट आठ विधामा राष्ट्रिय पुरस्कार प्रदान गरिएको समारोहमा बुलाकीले ह्याट्रिक गरेको छ। यसै फिल्मबाट राजबहादुर सानेले कथा, पटकथा र संवाद लेखन तथा शिव ढकालले छायांकनको अवार्ड चुमे। त्यसैगरी प्रसाद–२ बाट बिपिन कार्की,ले उत्कृष्ट अभिनेता र दिमाग खराबबाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमे। दिमाग खराबबाटै निश्चल बस्नेतले उत्कृष्ट निर्देशकको अवार्ड चुमेका छन्।
पूर्व नेपाल सुन्दरी तथा सञ्चारकर्मी सुगरीका केसीद्वारा सञ्चालित समारोहमा महाजात्राबाट मित्र डी गुरुङले सम्पादनको अवार्ड चुमे। त्यसैगरी लिम्बू भाषाको फिल्म लोजीमाले उत्कृष्ट आदिवासी जनजाति मातृभाषी फिल्म, टुल्कीबाट स्वस्तिमा कार्कीले निर्णायक समिति प्रोत्साहन पुरस्कार र फिल्म जारीले निर्णायक समिति प्रोत्साहन व्यावसायिक सफल फिल्म पुरस्कार प्राप्त गरे। राष्ट्रिय चलचित्र पुरस्कारवापत विजयी सबैलाई ट्रफीका साथमा २५ हजार रुपियाँ नगद प्रदान गरिएको थियो।
दीर्घ साधना सम्मान चैत्यदेवीलाई
समरोहमा चलचित्र दीर्घ साधना सम्मानबाट नेपालको पहिलो फिल्म आमाकी आमा, पहिलो रंगीन फिल्म कुमारीकी नायिका, नेपाली फिल्मको पहिलो सहायक निर्देशक चैत्यदेवी सिंहलाई सम्मानित गरिएको छ। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले तीन लाख ७५ हजार रुपिया“ नगदसहित सम्मान गरेका हुन्। चैत्यदेवीलाई बाजागाजा बजाएर मञ्चमा लगिएको थियो। उनलाई सम्मान गर्दा कार्यक्रमका सहभागीले स्वस्पूmर्तरूपमा उठेर उनीप्रति सम्मान व्यक्त गरेका थिए।
कार्यक्रममा विशेष अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री हास्य पृथिवी सुब्बा गुरुङले अभिनेता तैयब शाह, प्रदर्शक केशवप्रसाद रायमाझी र ध्रुवकुमार श्रेष्ठ, अभिनेत्री विद्या कार्की र सविता गुरुङ, द्वन्द्व निर्देशक नारायण प्रधान, निर्माता नरेन्द्र महर्जन, अभिनेता तथा निर्मात्रा नन्दकिशोर प्रसाद श्रीवास्तव, निर्माता निर्देशक भोजबहादुर थापा, संगीत संयोजक आमूल कार्की ढली र अभिनेता बुद्धि तामाङलाई आ–आफ्नो विधामा योगदान पुर्याएवापत विशेष योगदान सम्मान प्रदान गरे।
समारोहमा मन्त्री गुरुङले कार्यक्रममा लक्ष्मण सुवेदीद्वारा निर्देशित फिल्म सतिदेवी, लिम्बू भाषाको फिल्म सुगुप र गुरुङ भाषाको मार्कलीलाई विशेष फिल्मको पुरस्कार प्रदान गरे। विशेष फिल्म पुरस्कार जित्ने फिल्मले सबटाइटल गर्नका लागि दुई लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ।
त्यसैगरी रिल बोकेर जाने क्रममा सवारी दुर्घटनामा ज्यान गुमाउन पुगेका प्राविधिक सुरेन्द्रमान तुलाधरलाई फिल्म शहीद घोषणा गर्दै मणरोपान्त सम्मान गरिएको छ। कार्यक्रममा उनकी पत्नी अनिता तुलाधरलाई ५० हजार रुपियाँ प्रदान गरिएको थियो।
समारोहमा राष्ट्रपति पौडेलले पछिल्लो समय नेपाली फिल्म नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमै फैलिएको बताए। ‘पछिल्लो समय दर्शकले नायकत्वभन्दा मौलिक कथा र विषयवस्तुलाई प्रधानता दिएको फिल्म रुचाएका छन्।
ठूलाठूला विषयवस्तु भन्दा हाम्रै गाउँघरका मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेका नेपाली भाषा संस्कृति र परम्परालाई प्रस्तुत गर्दै आउनु सुखद कुरा हो,’ राष्ट्रपति पौडेलले भने,‘विभिन्न कठिनाइका बाबजुद नेपाली फिल्म यहाँसम्म आउनु सुखद् कुरा हो। हाम्रा चलचित्रकर्मीको अथक मिहिनेत र प्रयासले फिल्म उत्कृष्ट र अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धी बन्नु हाम्रा लागि खुशीको खबर हो।’
बोर्डका अध्यक्ष दिनेश डिसीले राष्ट्रपति पौडेल र मन्त्री गुरुङसमक्ष यही वर्ष नै नेपाली फिल्म क्षेत्रले नयाँ फिल्म ऐन पाउनुपर्ने माग राखे। समारोहमा राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन्।