वडाध्यक्ष यादवको हत्या आरोपमा दुई आरोपी पुर्पक्षका लागि थुनामा

महोत्तरीको रामगोपालपुर नगरपालिका- २ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा दुई आरोपीलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

इजलास नं. ४ मा भएको थुनछेक बहसपछि न्यायाधीश नवराज दुलालको एकल इजलासले औरही नगरपालिका- ७ निवासी सञ्जीव झा र दिलीपकुमार मण्डललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

गत भदौ ९ गते जलेश्वर–बर्दीबास सडकखण्डमा पर्ने बर्दीबास- ८ स्थित कल्भर्टनजिकै वडाध्यक्ष यादव मृत अवस्थामा फेला परेका थिए । वडाध्यक्ष यादवकाे मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान गरेकाे थियाे । प्रहरीकाे अनुसन्धानपश्चात् दुवै आरोपीलाई नियन्त्रणमा लिई अदालतमा पेस गरेको थियो ।

जिल्ला अदालत महोत्तरीकी श्रेस्तेदार नूतन झाले सोमबार बयान भएको र मंगलबार बहसपछि पुर्पक्षमा राख्न न्यायाधीशले आदेश दिएको जानकारी दिइन् ।

The post वडाध्यक्ष यादवको हत्या आरोपमा दुई आरोपी पुर्पक्षका लागि थुनामा appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/23/100177/