वायुसेवा निगमका १२ पाइलटहरू अपर्झट बसे बिदा, खलबलियो अन्तर्राष्ट्रिय उडान तालिका
नेपाल वायु सेवा निगममा कार्यरत १२ जना पाइलट एकसाथ बिदा बसेपछि उडान तालिका प्रभावित भएको छ ।
निगमसँग दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी उडाउन ४३ क्याप्टेन छन् । स्थायी सेवामा कार्यरत निगमका पाइलटहरूले मासिक तलबभत्ता ६ लाख जति पाउँछन् । तर, करार सेवामा कार्यरत विज्ञ पाइलट तथा क्याप्टेनलाई भने निगमले १२ लाख रुपैयाँसम्म तलबभत्ता दिने गरेको छ । करारमा कार्यरत विज्ञ पाइलटसरह नै तलब पाउनुपर्ने माग राख्दै स्थायी पाइलटहरूले एक महिनाअघि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ज्ञापन बुझाएका थिए ।
तर, पत्नीको उपचारका लागि अधिकारी बिदामा गएपछि पाइलटहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई मन्त्रालयमा भेटेरै ज्ञापन बुझाएका थिए । मन्त्री पाण्डेले कात्तिक महिनाको समय मागेका थिए । तर, माग सम्बोधन भएन ।
त्यसपछि बिहीबारदेखि उनीहरुमध्ये १२ जना विभिन्न शिर्षकका बिदामा बसेका छन् । भैपरी घरको काम, बिरामी भएको कारण देखाउँदै उनीहरु उडानमा नै गएका छैनन् । जसकाकारण अरु पाइलट खोज्दा निगमका जहाज उडान १ देखि १० घण्टासम्म ढिला भएका छन् । निगमको वाणिज्य विभागका अनुसार झन्डै दर्जन पाइलट बिदामा बस्दा आइतबार कम्तीमा ९ सय ६३ यात्रु काठमाडौं, मुम्बई र दुबईमा अलपत्र परेका छन् ।
आइतबार साँझ साढे ९ बजे काठमाडौंबाट १ सय ६७ यात्रु लिएर दुबई उड्नुपर्ने जहाज काठमाडौंमै रोकिको छ । त्यस उडानका यात्रुलाई निगमले गौशालाका होटलमा कोठा खोजेर निगमकै खर्चमा राखेको छ । यस्तै, दिउँसो साढे १२ बजे १ सय ५५ यात्रु लिएर निगमको जहाज भारतको मुम्बई जानुपर्ने थियो । यात्रु भने १० बजेअघि नै विमानस्थल पुगेका थिए ।
ढिलासम्म पनि उडान नभएपछि उनीहरूलाई आइतबार नै उडान हुने आश्वासन दिएर विमानस्थलभित्रकै लाउन्ज र रेस्टुरेन्टमा राखेर खाना व्यवस्था गरिएको थियो । राति १० बजे निगमले आन्दोलनमा सहभागी नभएको पाइलटको खोजी गरेर जहाजलाई दिल्ली उडाएको थियो । शुक्रबार पनि बिहान हङकङ जानुपर्ने जहाज करिब ५ घण्टा ढिलो उडेको थियो । शनिबार पनि उडान कम्तीमा १ घण्टा ढिलो भएको विमानस्थल कार्यालयले जनाएको छ ।
एकैसाथ १२ पाइलट बिदा बसेको जानकारी अपरेसन विभागका निर्देशक दिपुराज ज्वारचनमार्फत निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई पठाइको छ । ज्वारचनले निगमका ४३ मध्ये ८ पाइलट बिहीबारदेखि सुनियोजित शैली अपनाउँदै बिदा बसेको जनाएका छन् । उनले सबै पाइलटहरूलाई आइतबार राति पत्र पठाएर निगमलाई पर्ने आर्थिकलगायतका नोक्सानीका सम्बन्धमा नियमअनुसार कारबाही हुने भएकाले सम्पूर्ण पाइलटहरू उडानमा फर्किन भनेका छन् ।
उता पर्यटन पाइलटहरूले गरेको हडताललाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताएको छ ।
The post वायुसेवा निगमका १२ पाइलटहरू अपर्झट बसे बिदा, खलबलियो अन्तर्राष्ट्रिय उडान तालिका appeared first on Samudrapari.