विपद् आएको झण्डै एक महिनापछि जुर्मुराउँदै कोशी सरकार

इटहरी । अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण धनजनको क्षति भएको करिब एक महिनापछि कोशी प्रदेश सरकार जुर्मुराउन थालेको छ । गत असोज १२ र १३ गते आएको अविरल वर्षाका कारण बाढी, पहिरोले ठूलो धनजनको क्षति भएको झण्डै एक महिनापछि मात्रै कोशी सरकारले तादरुकता देखाएको हो ।

प्रदेश सरकारले बुधबार मन्त्रिपरिषद् बैठक बस्दै अविरल वर्षाले भएको क्षतिको पुनःनिर्माण र सर्मतसम्भार गर्नका लागि मर्मत तथा पुनःनिर्माण कोषमा कोशी प्रदेश सरकारले ४० करोड रुपैयाँ जम्मा गर्ने भएको निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीका अनुसार कटौती गर्न नमिल्ने रकमबाहेक प्रदेश सरकार र वित्तीय समानिकरण अनुदान श्रोतमा चालु खर्च शिर्षकहरूमा बिनियोजन भएको रकमबाट १० प्रतिशत पुग्ने गरी सबै मन्त्रालयले बजेट समर्पण गर्ने निर्णय हो ।

साथै, कोषमा मन्त्रीहरूको १० दिनको तलब जम्मा गर्ने त्यस्तै सांसदहरूलाई सम्बन्धित दलमार्फत सहयोग गर्न आग्रह गर्ने र कर्मचारी तथा अन्य सरोकारवालाहरूलाई पनि कोषमा सहयोग गर्न आह्वान गर्ने निर्णय भएको उनले बताए ।

उनका अनुसार कोशी प्रदेशमा बाढीपहिरोको कारण सडक, पुल, सिँचाइ, भवन, विद्यालय गरेर ४ अर्ब रुपैयाँ बढीको क्षति भएको छ । क्षति भएको झण्डै एक महिनापछि मात्रै कोशी प्रदेश सरकार जुर्मुराएको हो ।

पूर्व प्रशासक तथा राजनीतिक विश्लेषक कृष्ण पोखरेलले विपद् आउनुपूर्व नै सरकारले सम्भावित घटना’bout सचेत हुनुपर्ने तर्क राखे ।

‘सरकारी निकायले प्राकृतिक प्रकोपलाई प्रोएक्टिभ भएर काम गर्नुपर्छ । दैविक प्रकोपलगत्तै पीडितकहाँ राज्य पुग्यो र राज्यको राहत पुग्यो भने ‘राज्य छ है !’ भन्ने जनमानसमा पर्छ,’ पोखरेलले भने, ‘अहिले त करिब एक महिना नै ढिलो भइसक्यो । अब यो ढिलाइका ’boutमा यस्तो नगर्ने भन्ने खालको सोच बनाउन जरूरी छ ।’

उनले पुनःनिर्माण कोष बनाउने कुरा सकारात्मक रहेको भएपनि राज्यले पूर्व तयारी गर्नुपर्ने सुझाए । ‘प्रकोप आउनु र त्यसमा पीडित भएकाहरूका लागि तत्काल राहतको आवश्यकता छ,’ उनी भन्छन्, ‘यसका लागि पूर्व तयारी नै गर्नुपर्छ । अब यो घटनालाई सबक ठानेर आगामी दिनमा क्वीक रेस्पोन्स गर्नु नै सबैभन्दा राम्रो तरिका हो ।’

राज्यले भनेको अरूहरूले गरेको देखेर यसो गर्नुपर्नेरहेछ भन्ने सोच राख्न नहुने उनको तर्क छ । विपद् न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाउनुपर्नेसमेत उनको भनाइ छ । भने, ‘अरूले गरेको देखेर यसो गर्नुपर्नेरहेछ भन्ने सन्देश जानु गलत हो । हामीकहाँ आउने प्राकृतिक विपद् बाढीपहिरो, आगलागीलगायतका कुराको अध्ययन गर्नुपर्छ । हामीकहाँ भइरहने प्राकृतिक विपद् के–के हो ? त्यो अनुसार कोष बनाउनुपर्छ ।’

जोखिमपूर्ण ठाउँमा बसोबास गरेकाहरूलाई स्थानान्तरण गर्नुपर्नेसमेत उनको भनाइ छ । बाढी आएको बेला तत्कालै उद्धार गरेजस्तो गर्नुभन्दा पनि अघिदेखि नै सरकारी निकायको तयारी हुनुपर्ने उनले बताए ।

खासगरी विकास निर्माणका कारण पनि विपद् निम्तिएको उनको भनाइ छ । ‘पहाड भत्काएर, घडेरी बनाउने कुरा पनि रोक्नुपर्छ । पहाड फोरेर सडक बनाउने विषयमा विज्ञसहित अध्ययन गर्नुपर्छ, उनी भन्छन्, ‘विकासका काम नगरी हुँदैन, ठीक छ । तर प्राकृतिक अवस्थालाई कम भन्दा कम दखल दिएर काम गरिनुपर्छ ।’

अन्धाधुन्द ढंगले गरिएका विकासले विपद् निम्त्याउने पोखरेलको तर्क छ । ‘कोशी प्रदेशमा कस्ता खालका विपद् निम्तिन्छन्, त्यो अध्ययन गर्नुपर्छ । अरू देशहरूले विपद् आउने स्थानलाई सतर्कताको सूचीमा राखेको हुन्छ । हाम्रोतिर न पूर्व योजना छ, न दीर्घकालीन योजना नै,’ उनले भने ।

खासगरी विपद्का कारण भौतिक क्षतिसँगै मानवीय क्षतिलाई पनि कम गर्न योजना बनाइनुपर्ने उनले सुझाए । ‘मानवीय क्षति अपुरणीय हुन्छ । मानवीय क्षतिलाई रोक्नका निम्ति काम गर्नुपर्छ । घर र सडक त बरू फेरि बनाउन सकिन्छ,’ उनले थपे ।

कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईकाअनुसार बाढी पहिरोपछि प्रदेश सरकारले भौतिक क्षतिको विवरण संकलन गरेको थियो । प्रदेशका १४ जिल्लामा ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति भएको राईले बताए ।

उनका अनुसार आंशिक क्षति पुगेका पूर्वाधार निर्माण गर्न १ अर्ब २ करोड ५० लाख रुपैयाँ बजेट लाग्नेछ । यसैगरी पूर्ण क्षति भएका पूर्वाधार निर्माण गर्नका लागि ३ अर्ब ६१ करोड लाग्ने उनको भनाइ छ । ‘तत्काल मर्मत गर्नुपर्ने अवस्थामा ६० वटा सडक, १५ वटा सडक पुल, १७ वटा झोलुङ्गे पुल छन् । क्षतिको विवरण निकालिसकेपछि हामीले कतिपय ठाउँमा पुनःनिर्माणको काम पनि सुरु गरेका छौँ,’ उनले भने, ‘धेरैजसो पहाडी जिल्लामा पहिरो र बाढीका कारण सडक र पुलमा क्षति भएको छ ।’

The post विपद् आएको झण्डै एक महिनापछि जुर्मुराउँदै कोशी सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102749/