समाचारप्रति कुलमानको आपत्ति

काठमाडौं ।

नेपाल विद्युत् प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूविरुद्ध विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा सम्प्रेषित समाचारहरू सुनियोजित र दूषित मनसाय राखी आएको दाबी गर्दै त्यसप्रति आपत्ति व्यक्त गर्नुभएको छ।

कार्यकारी निर्देशक घिसिङले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साही बनाउन सुनियोजित रूपमा निहीत स्वार्थका साथ समाचार सम्प्रेषण भइरहेको दाबी गर्नुभएको छ।

उहाँले आफ्नो परिवारका सदस्यका रूपमा रहेका दाइ र भाइको चरित्र हत्या, मान प्रतिष्ठा र छविमा आघात पु¥याउने उद्देश्यले सुनियोजित रूपमा भ्रमपूर्ण समाचारहरू प्रकाशित भएको जिकिर गर्नुभएको छ।

अंशबण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रूपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् । के मेरा दाइ र भाइले स्वदेशमै व्यापार व्यवसाय नगरी विदेशिनु पर्ने हो ? घिसिङले प्रश्न गर्नुभएको छ।

‘मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहन्छु। यदि, मैले त्यस्तो गरेको पाइएमा राज्यका निकायहरूले छानबिन गर्ने नै छन्’ –घिसिङले प्रेस विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

घिसिङले नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयका साथ गलत आरोप लगाइएको भन्दै त्यसको खण्डन गर्नुभएको छ।

Source : https://newsofnepal.com/2024/05/09/642791/