सहकारी ठगीमाथिको अनुसन्धान फराकिलो बन्दै

–रविको रिहाइको माग गर्दै २ हप्तादेखि रास्वपा सडकमा, मंगलबार ३३ जना पक्राउ

काठमाडौं ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेसँगै सहकारी ठगी प्रकरणको अनुसन्धान थप फराकिलो बन्दै गएको छ । उहाँलाई पक्राउ गरी अनुसन्धान भइरहँदा अन्य सहकारीबाट रवि, उनका पारिवारिक सदस्य र व्यावसायिक साझेदारहरूका नाममा ऋण प्रवाह भएरको समेत खुल्दै आएको र प्रहरीले समेत अनुसन्धानलाई थप फराकिलो बनाउँदै लगेको हो ।

सहकारी ठगी, संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान पनि थालिएको प्रहरीले जनाएको छ । तर, उहाँको रिहाइको माग गर्दै रास्वपाका नेता कार्यकर्ताले गत कार्तिक २ गतेबाटै आन्दोलन गरिरहेका छन् । यसै क्रममा मंगलबार प्रधानमन्त्री निवास बालुवाटार गेटमा आन्दोलन गर्न पुगेका रास्वपाका ३३ नेता कार्यकर्ताहरू पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई मंगलबार साँझ रिहाइ गरिएको थियो ।

सरकारले अनुसन्धानको दायरामा रहेका व्यक्तिका पक्षमा सडकमा भीड बटुलेर अनुसन्धानलाई प्रभावित नपार्न आन्दोलनरत पक्षलाई आग्रह गरेको छ । सहकारी ठगी प्रकरणमा रविलगायत विभिन्न राजनीतिक दल निकट मानिएका सयौं व्यक्तिहरू पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको जिकिर गरेको छ।

प्रहरीको पछिल्लो तथ्यांकअनुसार करिब ६ सय जना पक्राउ परेका छन् । देशभरको उजुरीअनुसार अझै १ हजार ४ सय ३० जना प्रहरीको फरार सूचीमा छन् । तर, सरकारले आफू निकटका व्यक्तिहरूलाई जोगाएर रवि लामिछानेलाई फसाएको रास्वपाले आरोप लगाउँदै आएको छ । रविलाई कार्तिक २ मा पार्टी कार्यालयबाट सीआईबीले पक्राउ गरी अनुसन्धानका लागि पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

सूर्यदर्शन सहकारीमा बचत कर्ताको रकम ऋणस्वरूप गोरखा मिडिया नेटवर्कमा लगेर उक्त कम्पनीमार्फत् अपचलन गरेको लामिछानेमाथि आरोप थियो । पछिल्लोपटक उहाँमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको ठहर गर्दै काठमाडौं प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रहरी वृत्त कालिमाटीको फाइल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा झिकाएर अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले बताएको छ। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राईविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट रेड नोटिस जारी भएको छ ।

पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जीबीलाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको छ । २७ हजार बचतकर्ता रहेको स्वर्णलक्ष्मीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि दुईपटक ऋण लिएको तर फिर्ता नगरेकोे अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार जीबी र रविले संयुक्त नाममा ऋण लिएको पाइएको छ । २०७८ भदौ ४ मा उनीहरूले ‘फोर ह्विलर लोन’ र २०७८ कार्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ । ‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार लिएको तर, ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा भेटिएको छ ।

त्यस्तै, ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट भेटिएको छ । स्वर्णलक्ष्मीबाट गैरकानुनी रूपमा रवि र जीबीसहितको नाममा प्रवाह भएको लोनको ३५ थान भौचर प्रहरीले बरामद गरेको जनाएको छ । सो सहकारी संस्थामा आबद्ध ६ सय ४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबारे अनुसन्धान भइरहेको काठमाडौंका एसएसपी वसन्त रजौरेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कालीमाटी वृत्तमा दर्ता भएको थियो, हामीले सो फाइल परिसरमा ल्याएर अनुसन्धान थालेका छौँ ।’

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा जीबी राईका साढु भाइ दीपक लामासहित २४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । स्वार्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । स्वर्णलक्ष्मीका कोषाध्यक्ष कुमार रम्तेल पोखरास्थित जिल्ला कारागार कास्कीमा हुनुहुन्छ । जीबी राई, कुमार रम्तेल, व्यवस्थापक नवीन अछामी र दीपक लामासहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

त्यस्तै, चाबहिलस्थित साई स्वागत बचत तथा ऋण सहकारी संस्थाबाट रविले ५० लाख ऋण लिएको खुलेको छ भने सोही सहकारीकी उपाध्यक्षसमेत रहेकी लामिछानेकी पत्नी निकिता पौडेलले सहकारीको ४ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप छ । साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलनमा उक्त सहकारीका तत्कालीन अध्यक्ष भरत जंगमसमेत मुछिएको प्रहरीमा उजुरी छ । बचतकर्ताहरूले रकम हिनामिनाको उजुरी परेपछि सहकारी संस्थाकी तत्कालीन उपाध्यक्ष निकिताले पदबाट राजीनामा दिएको बताउँदै आए पनि काठमाडौं महानगरपालिकाको सहकारी विभागको छानबिनका क्रममा निकिताले दिएको भनिएको राजीनामा कागजी रूपमा पुष्टि नभएको दाबी गरेको छ ।

सहकारी ठगी प्रकरणमा संलग्नहरूको संख्या बढ्दै गएको र सरकारले यस विषयमा अनुसन्धानको दायरा थप फराकिलो बनाउँदै लगेको गृहमन्त्री रमेश लेखकले बताउनुभयो । उहाँले कसैको अनुहार नहेरी ठगीमा संलग्नमाथि अनुसन्धान गरिरहेको दाबी गर्नुभयो । यद्यपि, सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताउँदै सहकारी ठगी प्रकरणमा संलग्न हो भने नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि समेत अनुसन्धान गर्न सुझाव दिनुभएको छ ।

सहकारीको बचत ठगी गर्नेहरूको सम्पत्ति बेचेर भए पनि सानो बचतकर्ताको रकम फिर्ता गर्ने काम शुरू गर्नुपर्ने भन्दै महामन्त्री थापाले सहकारी प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गर्नुपर्ने भन्दै संसदीय छानबिन समितिको प्रतिवेदन पूर्णरूपमा कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उता, रास्वपाका कार्यकर्ताहरू भने रविको रिहाइको माग गर्दै दुई हप्तादेखि सडकमा छन् ।

६१५५ जनाको बचत रकम फिर्ता

हालसम्म ६ हजार १ सय ५५ जना सहकारीका बचतकर्ताले बचत रकम फिर्ता पाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जानएको छ । मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा सहकारीको बचत फिर्ता तथा मिलानसम्बन्धी विवरण सार्वजनिक गर्दै हालसम्म ६ हजार १ सय ५५ जनालाई १ अर्ब ४८ करोड ५१ लाख रुपियाँ फिर्ता गरिएको मन्त्रालयले जनाएको हो ।

मन्त्री अधिकारीले देशभरका सहकारीमा रकम जम्मा गरेका ५६ हजार ६ सय ५० भन्दा बढी बचतकर्ताका ३८ अर्ब ४२ करोडभन्दा बढी रकम फिर्ता गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले संकटग्रस्त सहकारीमा भएको सम्पत्ति बिक्री, लिलाम वा सट्टापट्टा गरेर भए पनि सहकारी पीडितहरूको रकम फिर्ता गर्ने जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले विभिन्न सहकारीबाट ऋण लिने १३ हजार ७५ ऋणीहरूबाट २३ अर्ब ६२ करोड ९६ लाख ५८ हजार ७ सय ९४ रुपियाँ असुली गर्नुपर्ने देखिएको र त्यस्ता ऋणीहरूले लिएका कर्जा उठाउने काममा समिति सक्रिय भएर लागेको बताउनुभयो ।

Source : https://newsofnepal.com/2024/10/30/675947/