हुलास स्टिलको काटिएको लाइन जोड्न अदालतले दिएन अन्तरिम आदेश
काठमाडौं ।
उच्च अदालत जनकपुरले कटिएको विद्युत् लाइन जोड्न अन्तरिम आदेश माग गर्दै परेको मुद्दामा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको छ।
हुलास स्टिल इन्डस्ट्रिजका सञ्चालक हिमान्सु गोल्छाले नेपाल विद्युत् प्राधिकरणविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कात्तिक ६ गते रिट दायर गरेका थिए।
सोमबार न्यायाधीशद्वय नीलम पौडेल र अर्जुन महर्जनको संयुक्त इजलासले रिटमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको हो। ‘मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ को अवस्था विद्यमान रहेको नदेखिँदा निवेदन मागबमोजिम अन्तरकालीन आदेश जारी गर्नुपर्ने देखिएन,’ आदेशमा भनिएको छ।
बाराको सिमरास्थित हुलास स्टीलको १४ करोड १२ लाख ५ हजार ८६२ रुपैयाँ बक्यौता रहेको छ । उक्त उद्योगको लाइन यसअघि नै विच्छेद गरिसकिएको छ।
प्राधिकरणले कात्तिक ८ गते तोकेको म्यादभित्र बक्यौता नतिरेका ३४ उद्योगको लाइन काटिदिएको थियो। तीमध्ये केहीले किस्ताबन्दीमा रकम तिर्ने सहमति गरेपछि उनीहरूको लाइन जोडिएको छ।