१४२ रुपैयाँमा इटालीमा घर, कसले दिनसक्छन् आवेदन ?
काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले जितेपछि केही अमेरिकी नागरिकहरुले अमेरिकाबाट पलायन हुनेबारे सोचेका छन् । विशेषगरि डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको हारपछि उनका समर्थकहरु ट्रम्पको कार्यकाल समयभरका लागि अमेरिका छाड्न चाहिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।
यही सोचाईको फाइदा लिँदै डोनाल्ड ट्रम्प र रिपब्लिकनको शासनकालमा पलायन हुन चाहने अमेरिकीहरूलाई लक्ष्य गर्दै इटालीको एउटा गाउँले आकर्षक योजना अघि सारेको छ ।
इटालीको सार्डिनिया टापुको ओलोलाईको एउटा प्राचीन बस्तीले अमेरिकाबाट पलायन हुन चाहनेलाई एक युरो (१४२ रुपैयाँ) मै घर दिने योजना अघि सारेको हो । गाउँलाई छाडेर युवाहरु सहर पलायन हुँदै गएपछि उक्त गाउँले एक युरोमै अमेरिकीहरुलाई घर दिने योजना ल्याएको हो ।
उक्त गाउँमा बाक्लो बस्ती छ । तर जनसंख्या भने बर्सेनि घट्दो क्रममा छ। दस वर्षअघि त्यहाँको जनसंख्या २ हजार २५० थियो । अहिले त्यसबाट पनि घटेर १ हजार १५० जना बाँकी रहेको सिएनएनले लेखेको छ ।
एक युरोमा पाइने घरहरू केही जीर्ण हुन्छन्। त्यस्ता घरहरू मर्मत गरेपछि बस्न योग्य हुन्छन्। ती घरहरुमा अस्थायी रूपमा पनि बस्न सकिने बताइएको छ।
सार्डिनियाका मेयर फ्रान्सेस्को कोलम्बुले ती गाउँलाई पुनर्जीवित गर्न यस्तो योजना अघि सारेको बताएका छन् । उनले सिएनएनसँग भनेका छन्, ुखाली रहेको बस्तीलाई अमेरिकीहरूको मद्दतले पुनर्जीवित गर्न सक्छौं भन्ने विश्वास छ।’ एक युरोको घरका लागि अन्य देशका नागरिकले पनि फारम भर्न सक्ने भएपनि अमेरिकीहरूलाई प्राथमिकतामा राखेको उनले बताएका छन् । एक युरोमा घर किन्न चाहनेहरुसँग समन्वयका लागि टोली नै गठन गरिएको पनि मेयर कोलम्बुले बताएका छन्।
घर बेच्नका लागि लिभइनओलोलाई डटकम नामको वेबसाइट नै सुरू गरिएको छ। ओलोलाईमा बस्न चाहने अमेरिकीहरूले वेबसाइटमार्फत फाराम भर्न सक्ने बताइएको छ। अमेरिकी राष्ट्रपति चुनावकै बेला उक्त वेबसाइट बनाइएको थियो । वेबसाइटमा बस्तीका खाली घरहरूको विवरण चाँडै अपलोड गरिने बताइएको छ।
उक्त गाउँमा घुमन्तेहरूका लागि निःशुल्क अस्थायी घर, मर्मत गरेर बस्न सकिने एक युरोका घरहरू र स्थायी रूपमा बस्न योग्य १ लाख युरोसम्मका घरहरू तयार रहेको बताइएको छ ।
इटालीको गाउँमा एक युरोमा घर खरिद गर्न सकिने नीति हालसालको नीति भने होइन । बस्तीमा आबादी बढाउनका लागि सार्डिनियाले यस्तो अफर सन् २०१८ देखि नै राखेको हो । तर ६ वर्षमा एक युरोको दस वटा पनि घर बिक्री नभएको मेयर कोलम्बुले बताएका छन् ।