‘प्रदेशको विकासका लागि फाष्टट्रयाक र हुलाकी राजमार्ग आवश्यक’
मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशमा विकासको अनेकौँ सम्भावनाहरू भए पनि सही ढंगले सदुपयोग नभएको बताएका छन् ।
जनकपुरधाममा मंगलबार भएको प्रभावकारी र दु्रत सेवाका लागि बहुसरोकारवालाहरुसंग कार्यशाला गोष्ठीमा यसको सदुपयोगका लागि सही व्यवस्थापन नभएका कारण मुलुकको समग्र विकासले गति नलिएको बताए । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् को कार्यालय र श्रम तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यशालामा मुख्यमन्त्री सिंहले प्रदेशको द्रुत आर्थिक विकासका लागि सञ्चालनमा रहेका राष्ट्रिय महत्वका योजनाहरूको निर्माणमा गति दिन आग्रह गरे ।
वर्षौसम्म योजनाहरू पूरा नहुँदा मुलुकको समग्र आर्थिक विकासमा नकारात्मक असर पारिरहेको उनको भनाइ छ । उनले मधेश प्रदेशलाई संघीय राजधानीसंग जोड्ने फाष्टट्रयाक र हुलाकी राजमार्ग समयमा नै निर्माण भएको खण्डमा वर्षेनी रुपमा अर्बौको डिजेल तथा पेट्रोलको खपतमा कमी हुने भएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।
त्यस्तै मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले यस प्रदेशको आर्थिक विकासका लागि कृषि, पर्यटन तथा उद्योगको विकासका लागि ठोस नीति बनाउन आवश्यक भएको बताए । उनले मधेश प्रदेशको समृद्धि र विकासका लागि संघ, प्रदेश तथा स्थानीय तहका बीचमा नीतिगत सुधारका साथै कार्यगत सहकार्य जरुरी रहेको बताए ।
The post ‘प्रदेशको विकासका लागि फाष्टट्रयाक र हुलाकी राजमार्ग आवश्यक’ appeared first on Janakpur Today.