अपराध नियन्त्रणमा प्रहरीको भूमिका प्रशंसनीय: प्रजिअ अर्याल
कपिलवस्तु । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीले देखाएको सक्रियता प्रशंसनीय भएको बताएका छन् ।
६९औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजिअ अर्यालले प्रहरी भएकै कारण आम मानिसले अमन चयन महसुस गरिरहेको दाबी गरे । उनले प्रहरीले कर्तव्य निर्वाह गरेको कारण समाजमा अपराध न्यूनीकरण भएको बताए। सीमित स्रोत, साधनका बाबजुद प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरिरहेको प्रजिअ अर्यालको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले आम नेपाली जनतामा प्रहरीमाथि हालका दिनमा विश्वास बढ्दै गएको बताए । उनले प्रहरी प्रतिको नकारात्मक धारणा कम गर्दै सहयोगी भावना विकास गर्दै ‘प्रहरी मेरो साथी’ ठानेर काम गरेको खण्डमा समाजमा विद्यमान सबै खाले विकृति हटाउनमा मदत पुग्ने बताए । उनले प्रहरीलाई सहयोगी भूमिकामा राखेर काम गर्दा समाजबाट अपराध न्यूनीकरण हुने दाबी गरे ।
दिवसको अवसरमा ब्याडमिन्टन र भलिबल प्रतियोगितामा विजयी हुने पुरस्कार एवम् प्रमाणपत्र वितरण, अमर प्रहरी परिवारलगायत ज्येष्ठ पूर्व प्रहरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा कपिलवस्तु जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी एवम् गैर सरकारी निकायका प्रमुख एवम् प्रतिनिधिलगायतको सहभागिता थियो ।
The post अपराध नियन्त्रणमा प्रहरीको भूमिका प्रशंसनीय: प्रजिअ अर्याल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/102297/