अपांगता भएका व्यक्तिलाई राज्यले सामाजिक सुरक्षा भत्ताको सट्टा औषधि उपचार निःशुल्क गर्नुपर्छ

नेपालमा विभिन्न समयमा भएका आन्तरिक द्वन्द्व, भूकम्प, बाढी पैरो, सडक दुर्घटना, विभिन्न घटना, दुर्घटनामा परि स्पाइनल इन्जुरी (मेरुदण्डको पक्षघात) को अवस्था विकराल छ । सरकारी काममा जाँदा अपांग मैत्री भवन, शौचालय, कुर्सी, बाटो छैन भने सडकमा सार्वजनिक सवारी साधन रोक्दै रोक्दैनन् ।

शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण कठैबरा भन्ने र दया भाव बोल्ने भन्दा पनि उ आम मानव सरह सम्पूर्ण अधिकार प्राप्त मानव हो भन्ने व्यवहार हुनुपर्छ ।तर, त्यस्तो देखिँदैन। 

 गोकर्णेश्वर नगरपालिका १ अपांग पुनर्स्थापना केन्द्र माकलबारीका संस्थापक तथा पारिजात सेभिङ्ग एण्ड क्रेडिट, सूर्यविनायकका अध्यक्ष टंकराज काफ्ले भन्छन्।  शहरमा त यस्तो अवस्था छ भने गाउँको अवस्था कस्तो होला ? उनी प्रश्न गर्छन्। 

यही अवस्थालाई ध्यानमा राखेर सूर्य विनायकमा आफ्नै नेतृत्वमा  सहकारी खोली अपांगता भएका व्यक्तिलाई सहज लगानी, बचत लगायतमा प्राथमिकता दिएको उनी बत्ताउँछन्। अपांगता भएका व्यक्तिले १ अरब ब्यालेन्सिट भएको सहकारीको नेतृत्व गरेको सफल सहकारी यही भएको उनको दाबी छ।

 

अध्यक्ष काफ्ले २२ बर्षको युवा हुँदा कालिकोटमा सडक सर्वे गर्ने क्रममा दुर्घटनामा परि अपांग भएको बताउँछन् । दुर्घटनापछि उनको ३ महिनापछि मात्र  पूर्ण होस आएको र आफू ९ महिना सम्म त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमै बसेर उपचार गराएको बताउँछन् । त्यतिबेला काफ्लेलाई अब म केही गर्न सक्दिन जस्तो लाग्ने र  कहिले मर्छु भन्ने निराशा आउँने, आत्महत्या गरौं जस्तो लाग्ने गरेको उनी सुनाउछन्। उनले आफू त्यो समयमा  डिप्प्रेसनममै पुगेको बताउँछन्। 

त्यसपछिका दिन मेरो परिवारले घर बाहिरको संसार, समाज र सम्भावना देखायो । वैशाखी टेकेर दिनमा ५ किलो मिटर हिँड्न  थाले । दिन प्रतिदिन आत्मबल बढ्यो र सहज मानिससँग प्रतिस्पर्धा गर्ने भावनाको विकास भयो र प्रतिस्पर्धामा उत्रिए । अहिले चारपांग्रे बाईक प्रतिस्पर्धामा कुदाउँछु । कोही बिरामी भएको सुन्दा आफ्नो विगत सम्झन्छु र सबैभन्दा पहिला बिरामीको अवस्था बुझ्न आफै पुग्छु । दुःख पर्दा सच्चा सहयोग गर्ने समाजको खाँचोछ । पूरानो पुस्तामा भन्दा नयाँ पुस्तामा सहयोग र सम्मानको भावनाको विकास भएको पाइन्छ । हाम्रो प्रयासमा सहकारी खोलेर अपांगहरुलाई स्वावलम्बी बनाउने वातावरणको विकास गरेका छौ । सदस्यता दिँदा पनि छुटको व्यवस्था गरेका छौ । वार्षिक रुपमा राहत हुने गरी  ५० हजार बराबरको सुविधा दिन्छौ । वास्तविक सहयोग गर्न कठीन छ । माकलबारीमा यस्तै बालबालिकाका लागि खोलिएको संस्थामा दाल, चामल, औषधि सहयोग गर्दै आएका छौ । कोभिडका  बेला पनि औषधि, माक्स, खाद्यान्न सहयोग गरेका थियौ । अपांगहरुमा आत्मनिर्भर नभएसम्म व्यक्तिगत विकास हुँदैन । यसका लागि एकीकृत प्रणालीको विकास हुनुपर्छ ।’ उनी भन्छन् 

राज्यले सहायक सामग्री अपांगता परिचयपत्रका आधारमा सहुलियत दरमा खरिद गर्न सक्ने व्यवस्था गर्नुपर्छ । चारपांग्रे मोटरसाईकल खरिद गर्न निकै झन्झटिलो छ । कानूनमा छुट छ तर प्रकृया निकै झन्झटिलो छ । यसलाई सहज बनाइनुपर्छ । राज्यले सामाजिक सुरक्षा भन्दा स्वरोजगार र उपचारमा नै सुविधा दिनुपर्छ । अंपागका नाममा एउटा औला नभएको वा पहुँचवालाले मात्र सुविधा पाएको छ । यो मानेमा शरीर सपाग तर मानसिक रुपमा अपांग भएका मानिस यो समाजमा धेरै छन् । अपांग दुईप्रकारका हुन्छन,नियमित औषधि सेवन गर्ने मानिस आँखाले नदेखिने डिसेवल हो भने देखिने गरी  शरीर अपांग भएका अर्को हुन काफ्ले भन्छन । समाजले गर्ने व्यवहारका कारण अपांग भएका व्यक्तिहरु बढी घमन्डी र जिद्धि हुन्छन् । नेपालको कुल जनसंख्याको २ दशमलब  ४ प्रतिशत अपांगता भएका व्यक्ति छन् । जसमा ६ हजार भन्दामाथि  मेरुदण्डको पक्षघात भएका अंपागहरु रहेको काफ्ले बताउँछन् । 

Source : https://newsofnepal.com/2024/10/27/675527/