अपाङ्गता भएका व्यक्तिको कुटेर भाँच्न पक्राउ
विराटनगर । अपांगता भएका व्यक्तिलाई कुटपिट गरी दुवै हात भाँचिदिने युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका वडा नम्बर ११ का २४ बर्षीय ‘बब’ भनिने राजकुमार सहनी छन् ।
प्रहरीका अनुसार उनले अपांगता भएका व्यक्ति कैलाश कुमार गुरुङलाई गोल्डेन हस्पिटल नजिक निर्घात कुटपिट गरेका थिए । वेवारिसे अवस्थामा बस्दै आएका गुरुङ जन्मजात नै बोल्न र सुन्न सक्दैनन् । उनको साथमा रहेको मोवाइलसहितका सामान लुट्ने क्रममा उनीमाथि सहनीले कुटपिट गरेको पाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । ‘वेवारिसे अवस्थामा बस्दै आएका गुरुङसँग भएको सामान लुटपाट गर्ने क्रममा साहनीले उनको दुई वटै हात भाँचिदिएको र टाउकोमा पनि गम्भीर चोट लागेको थियो,’ डीएसपी जोशीले भने, ‘बोल्न र सुन्न पनि नसक्ने भएकाले सुरुमा पत्ता लगाउन अलिक असहज भयो, अनुसन्धान गर्दै जाँदा सीसीटीभी फुटेज लगायत प्रमाणका अधारमा साहनीले कुटपिट गरेको पत्ता लागेपछि उनलाई पक्राउ गरेका छौं ।’
गत कात्तिक ४ गते बिहानका राती करिब ३ बजे गुरुङमाथि कुटपिट भएको थियो । उनलाई उद्धार गरेर कोशी अस्पतालमा ल्याई उपचार गरिएको छ । घटनाको अनुसन्धानका क्रममा संलग्न व्यक्तिको पहिचान भएपछि आइतबार राती ९ बजे बसपार्कबाट साहनीलाई नियन्त्रणमा लिइएको डीएसपी जोशीले जानकारी दिए । कोही नभएका व्यक्तिको न्यायका लागि पनि प्रहरीले काम गर्छ भन्ने यो घटनाले प्रमाणित गरेको डीएसपी जोशी बताउँछन् । उनी भन्छन्, ‘पहुँच र पावरका आधारमा आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ नगरेको आरोप लाग्ने गर्छ, तर यो घटनाले फरक सन्देश दिएको छ, पीडित गुरुङको कोही थिएनन्, प्रहरीले कोही नभएका व्यक्तिको न्यायका लागि पनि काम गर्छ भन्ने एउटा उदाहरण हो यो ।’
कुटपिटमा संलग्न सहनीविरुद्ध प्रहरीले ‘कुटपिट तथा अंगभंग’ कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रकृया अघि बढाएको छ । यता, घाइते गुरुङ पनि स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
The post अपाङ्गता भएका व्यक्तिको कुटेर भाँच्न पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/102915/