अमेरिकी ग्रिनकार्ड पाउने नेपालीको संख्या नाघ्यो २ लाख, जसमध्ये ८७,००० ले लिए अमेरिकी नागरिकता

अमेरिकामा ग्रीन कार्ड प्राप्त गर्ने नेपाली मूलका व्यक्तिहरूको संख्या वर्षैपिच्छे बढिरहेको छ। हालै मात्र प्रकाशित अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागको तथ्यांक अनुसार सन् २०२३ सम्ममा १,९४,८०० जना नेपाली मूलका व्यक्तिहरूले  अमेरिकी ग्रीन कार्ड प्राप्त गरेका छन्।

सन् २०२४ को अनुमानित तथ्यांकलाई समेट्दा यो संख्या २ लाख नाघिसकेको छ। तीमध्ये लगभग ८७,००० जना नेपालीहरूले प्राकृतिककरण (नेचुरलाइजेशन) प्रक्रियामार्फत अमेरिकी नागरिकता प्राप्त गरेका छन्।

सन् २०१४ सम्ममा २०,९२६ नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। त्यसपछिको दशकमा थप ६६,००० जना नेपालीहरू अमेरिकी नागरिक बने।  सन् २०१५ देखि २०२३ सम्ममा ५६,८६३ जना नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। सन् २०२४ को अनुमानित संख्या समेत गर्दा यो संख्या लगभग ६६,००० पुग्छ ।

अहिलेसम्म करिब ८७,००० नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरिसकेका छन्। सन् २०१४ देखि २०२४ सम्ममा नेपाली अमेरिकी जनसंख्यामा करिब ३१४.२९ प्रतिशतको वृद्धि भएको छ, जुन झण्डै ४.१४ गुणा हो। दोस्रो पुस्ताका नेपाली अमेरिकनहरूलाई समेत समेट्दा अमेरिकामा करिब १ लाख नेपाली अमेरिकनहरूको जनसंख्या रहेको छ।

letter

सन् २०२३ को आर्थिक वर्षमा ७,९३० नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। सन् २०२२ मा यो संख्या ९,४०८ थियो, भने सन् २०२१ मा ७,२३२ जना नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए।

तथ्यांकले देखाएअनुसार, सन् १९९० को दशकको अन्त्यदेखि ग्रीन कार्ड प्राप्त गर्ने नेपालीहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। सन् १९९६ अघि, यो संख्या करिब ३,५०० थियो, तर पछिल्लो दशकहरूमा यो संख्या निरन्तर रूपमा बढ्दै गयो।

नेपालीहरूले ग्रीन कार्ड प्राप्त गरेको तथ्यांक:

सन् १९९६ अघि: ३,५०० (अनुमानित)
१९९६: ४३१
१९९७: ४४७
१९९८: ४७६
१९९९: ४५३
२०००: ६१६
२००१: ९४५
२००२: १,१३७
२००३: २,०९५
२००४: २,८७८
२००५: ३,१५८
२००६: ३,७३३
२००७: ३,४७२
२००८: ४,०९३
२००९: ४,५१४
२०१०: ७,११५
२०११: १०,१६६
२०१२: ११,३१२
२०१३: १३,०४६ (उच्च वर्ष)
२०१४: १२,३६०
२०१५: १२,९३०
२०१६: १२,८५०
२०१७: ११,६१०
२०१८: ११,९५०
२०१९: १०,२००
२०२०: ७,८५०
२०२१: ७,३१०
२०२२: १२,०१०
२०२३: ११,९३०
२०२४: १०,००० (अनुमानित)

सन् २००० देखि, जब वार्षिक रूपमा ६०० भन्दा बढी नेपालीहरूले ग्रीन कार्ड प्राप्त गर्न थाले, यो संख्या सकारात्मक रूपमा बढ्दै गयो। सन् २०१३ मा १३,०४६ जना नेपालीहरूले ग्रीन कार्ड प्राप्त गरे, जुन अहिलेसम्मको उच्च अंक थियो। त्यसपछिका वर्षहरूमा केही घटबढ भए पनि सन् २०१९ सम्ममा यो संख्या निरन्तर १०,००० भन्दा माथि नै रह्यो।

सन् २०२०/२१ को समयमा महामारीका कारण केही कमी आएको थियो, तर सन् २०२२ मा यो संख्या पुन: बढेर १२,०१० पुग्यो र सन् २०२३ मा ११,९३० मा कायम रह्यो।

Source : https://www.khasokhas.com/210015