सन्दीपको ओडिआई करियरको उत्कृष्ट ब्याटिङका बाबजुद नेपालको हार, क्यानडासँग ५ विकेटले पराजित

काठमाडौं– क्यानडामा जारी आइसिसी विश्व कप लिग टुको खेलमा नेपालले लगातार हार व्यहोरेको छ । सोमबार विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ ।

१ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । क्यानडाका लागि नाभिनित धालिवाले टोलीका लागि १ सय १३ बल खेल्दै सर्वाधिक ८७ रन बनाएका थिए । प्रगत सिंहले ८३ बलमा ६४ रन बनाए ।

ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भएका थिए । हर्ष ठाकरले १३ रन जोडे भने निकोलस र्कितनले नटआउट ११ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले २ तथा करण केसी, गुलशन झा र ललित राजवंशीले समान १ विकेट लिएका थिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनाएको थियो । टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए । सन्दीपको ओडिआई करियरको यो उत्कृष्ट ब्याटिङ प्रदर्शन हो । यस अघि सन्दीपले सन् २०२३ मा पिएनजीसँग ५० बलमा नट आउट ३५ रन बनाएका थिए ।

गुलशन झाले ५६ बलमा ३४ रन र आरिफ शेखले ३३ बलमा १० रन बनाए । सोमपाल कामीले ४८ बलमा २१ रन र ओपनर अर्जुन साउदले १० रन बनाए । अन्य खेलाडीेले दोहोरो अंक जोड्न सकेनन् ।

क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकरले २ तथा सादविन जाफर, डिलोन हेलिगर र प्रविन कुमारले समान १ विकेट लिएका थिए । यसअघिका नेपाल क्यानडासँग १ सय ३ तथा ओमानसँग १ विकेटले पराजित भएको थियो ।

त्रिकोणात्मक सिरिजमा सोमवार नेपाल र ओमानबीच खेल हुनेछ । ८ टोलीको सहभागिता रहेको लिग टुमा १४ अंकका साथ क्यानडा शीर्ष स्थानमा छ । ७ खेलमा २ अंकका साथ नेपाल अंकतालिकाको पुछारबाट दोस्रोमा छ । ६ खेलमा ओमानको ५ अंक छ ।

 

Source : https://onlinetvnepal.com/2024/09/183825/