अवैध चिनी बरामद गरेर फर्किएको सशस्त्र प्रहरीको टोलीमाथी ढुंगामुढा
बुटवल– रुपन्देहीको सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोली माथि एक समूहले ढुंगामुढा प्रहार गरेको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोली माथि बिहीबार साँझ ढुंगामुढा गरेर अवरोध पुर्याइएको थियो ।
उक्त अवरोधलाई प्रहरीले स्करहरुको समूहले चिनी लुटपाट गर्ने उद्देश्यले ढुंगामुढा गरेको दाबी गरेको छ ।अवैध रुपमा नेपाल भित्रियाइ चिनी भण्डार गरी राखेको सूचना पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा खटिएको थियो । उक्त टोलीले मुजहनाका ३२ वर्षीय दिलिप लोधको घरमा खानतलासी गरी ११२ बोरा चिनी नियन्त्रणमा लिएको थियो ।
अवैध चिनी बरामद गरेर फर्किने क्रममा बिहीबार साँझ करिब ६ बजे एक सय जनाभन्दा बढी स्थानीयले बाटो अवरोध गरेर ढुंगामुढा गरेका थिए । त्यसपछि घटनाको प्रतिरोधका लागि सशस्त्र प्रहरी बलका थप ७० जनाको फोर्स झिकाइएको थियो । सशस्त्रको टोलीले बाटो अवरोध गर्ने समूहलाई तितरबितर पारेर स्थिति नियन्त्रणमा लिएको थियो । त्यसपछि बरामद चिनी सहित सवारी साधनहरु राजस्व अनुसन्धान कार्यालय बुटवलमा ल्याइएको थियो ।
उक्त ढुंगामुढाको घटनाबाट इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराती, सशस्त्र प्रहरी नायब निरीक्षक काशी प्रसाद चौधरी र सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डे लगायतको हातमा चोट लागेको छ । साथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीको ना १ झ १४७७ नम्बरको गाडीमा क्षति पुगेको छ ।
रुपन्देहीको सिमावर्ती क्षेत्रबाट ठूलो मात्रामा तस्करी हुने गरेको त्यहाँका स्थानीयले बताउँदै आएका छन् । उक्त क्षेत्रबाट सशस्त्र प्रहरीले मात्रै ९ महिनाको अवधिमा १० करोड बढीको अवैध सामान नियन्त्रणमा लिएको छ । यस्तै सोही अवधिमा नेपाल प्रहरीले पनि करिब ५ करोडको अवैध सामान नियन्त्रणमा लिइसकेको छ ।