इटहरीको शान्ति चोक किन एकाएक अशान्त बन्यो ?

इटहरी । इटहरीदेखि दक्षिण लागेपछि खनार आउने बेलामा देखिन्छ, ठूलो सेतो होर्डिङ बोर्ड । होर्डिङ बोर्डमा लेखिएको छ – ‘शान्ति चोक’ । तर, त्यही शान्ति चोक आइतबार साँझतिर एकाएक अशान्त बन्यो । शान्ति चोक अशान्ति बन्नुको कारण हो, दुर्घटना ।

झापाको काकडभिट्टाबाट विराटनगरतर्फ आउँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले साइकलमा सवार एक किशोरीलाई ठक्कर दिएपछि यो ठाउँ एकाएक अशान्ति बनेको हो ।

इटहरी ९ मा रहेको जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १३ वर्षीया सजना यादवको बसको ठक्करबाट मृत्यु भएको हो । आइतबार दिउँसो करिब ४ः३० बजेतिर तीव्र गतिमा रहेको बसले ठक्कर दिएर दुर्घटना भएको हो । घटनास्थलमा घाइते भएकी किशोरीलाई बसले ‘ब्याक’ गरी किचेर मारेको प्रत्यक्षदर्शी एक महिलाले बताइन् ।

‘मलाई केही भएको छैन । नमार भन्दै थिइन्, बसले ब्याक गरी किचेर मा¥यो,’ प्रत्यक्षदर्शी ती महिलाले भनिन् ।

ब्याक गरी किचेर मारेपछि बस विराटनगरतर्फ लागेको थियो । भाग्दै जाँदा स्थानीयबासीले ढुंगामुढा गरेर आगजनी गरेका छन् ।

उक्त बस खनार चोकमा रहेको नहर नजिकै स्थानीयबासीले जलाएका छन् । बस जलेर पूर्ण रूपमा क्षति भएको छ । आक्रोशित भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो । सुनसरीका प्रहरी प्रमुख (एसपी) सुमन कुमार तिम्सिना, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीसहित सशस्त्र प्रहरी बाक्लो मात्रामा खटिएका थिए । स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो । प्रहरीले साँझ ७ः३० बजेतिर मात्रै स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।

दसैँ, तिहारल, छठ पर्वगायतका चाडपर्वमा छुट्टी भएको विद्यालय बिहीबारदेखि मात्रै अध्यापन सुरू भएको थियो ।

आइतबार विद्यालयबाट घर आउने क्रममा बसको लापरबाहीका कारण उनले ज्यानै गुमाउनुपरेपछि परिवारजन भावविह्वल बनेका छन् ।

दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

मृतक बालिकाको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा लगिएको छ । उनका बुबा श्यामलाल यादव र आमा अनिताकुमारी ज्याला, मजदुरी गर्दै आएका छन् ।

यसैबीच पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको पथरीशनिश्चरे १ बजारमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१६३ नम्बरको बसले पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १–०२–०५५ प ७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा ६ का २४ वर्षीय रमेश खड्काको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका खड्कालाई तत्काल उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । अस्पताल पु¥याएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार चौदण्डीगढी नगरपालिका २ की २४ वर्षीया कृष्णकुमारी खड्का घाइते भएकी छन् । उनको न्यूरोमै उपचार भइरहेको छ ।

मोरङमै शनिबार दिउँसो टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

तीव्र गतिमा रहेको टिपरलाई मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल, टिपर र टिपर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३५ वर्षीय सुरेश राईलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी झापाको बिर्तामोड नगरपालिका २ स्थित पूर्व–पश्चिम राजमार्गमा ना ३ ख ४३६४ नम्बरको ट्रकले मे १० प ६०१७ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक झापाको शिवसताक्षी नगरपालिका ७ की २२ वर्षीया रोजी कटुवाल रहेकी छन् । उनको उपचारको क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न रहेका ट्रक चालक झापा अर्जुनधारा का ५२ वर्षीय राजकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लो समय तीव्र गतिका कारण दुर्घटना बढेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

The post इटहरीको शान्ति चोक किन एकाएक अशान्त बन्यो ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103952/