ओलीलाई प्रचण्डको प्रश्नैप्रश्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएपछि पहिलोपटक सडकमा आएको छ । ओली सरकारले सय दिन पूरा गरेलगत्तै माओवादी सडकमा आएको हो । ‘खबरदारी सभा’मार्फत् सडकमा आएको माओवादीले सय दिने हनिमुनमा ओली सरकारले कुनै पनि उल्लेख्य काम गर्न नसकेको आरोप लगाएको छ । साथै प्रधानमन्त्री ओलीमाथि प्रश्नैप्रश्नको वर्षा गराएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न चर्चित भ्रष्टाचार काण्डको ’boutमा अनुसन्धान कहाँ पुगेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरेका छन् ।

‘बेथिति, भ्रष्टाचार, महँगी र सरकारको जनविरोधी कदमविरुद्ध माओवादी केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सडकबाटै ‘कहाँ पुग्यो भुटानी शरणार्थी, बालमन्दिर, गिरीबन्धु प्रकरणको अनुसन्धान ?’ भन्दै तिखो प्रश्न गरेका छन् ।

व्यवस्था र सरकारविरोधी सडकमा हुने विरोधका कार्य स्वीकार्य नहुने सत्तारूढ सातदलीय गठबन्धनले शुक्रबार बताउँदै गर्दा त्यसको भोलिपल्ट प्रधानमन्त्री ओलीसँग माओवादी अध्यक्ष प्रचण्डले सडकबाट प्रश्न गर्दै ती भ्रष्टहरूलाई किन जोगाएको भनेर जवाफ माग गरेका छन् । साथै ओली नेतृत्वको सरकार यी प्रकरण मिलाउन बनेको गम्भीर आरोप लगाए ।

उनले प्राकृतिक विपत्तिप्रति ध्यान नदिँदै ओली सरकार कुलमान घिसिङ र उपसभामुख हटाउन मात्र केन्द्रित भएको आरोप लगाए । उनले सरकार दल विभाजन गर्न अग्रसर देखिएको बताउँदै दल विभाजन गर्न अध्यादेश ल्याउने खेलमा लागेको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले आगामी २०८४ को आमनिर्वाचनमा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने उद्घोषसमेत गरेका छन् । विगतमा कांग्रेस र एमालेसँग चुनावी सहकार्य गरेर पार्टीले गम्भीर गल्ती गरेकाले अब त्यो गल्ती नदोहो¥याउने उनको भनाइ छ । प्रचण्डले कांग्रेस र एमालेलाई भ्रष्ट पार्टीको संज्ञा दिँदै यस्ता पार्टीसँग चुनावी तालमेल अब नहुने बताए । यद्यपि, माओवादी केन्द्रले विगतमा एमाले र कांग्रेस दुवै दलसँग चुनावी तालमेलका साथै गठबन्धन सरकार बनाएको थियो ।

‘मलाई आज विशेष गर्वको महसुस भएको छ । जम्मा चार दिनको तयारीमा यो अपार उपस्थितिका निम्ति हार्दिक आभार व्यक्त गर्दछु । यदि सरकारले यो खबरदारी सभालाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुरा यही सभाले संकेत गरेको छ । सरकारलाई गम्भीर रूपमा लिन चुनौती दिन चाहन्छु,’ प्रचण्डले भने ।

बाढीपहिरोको विपत्तिको कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको र सरकार उदासीन भएको आरोप उनले लगाए । ‘हिजोको लापर्बाही फेरि नदोहोरियोस् भनेर म सरकारलाई सचेत गराउन चाहन्छु । अब उद्धार, राहत र पुनर्निर्माणको कार्य जिम्मेवारीपूर्वक रूपले गरियोस् । यो खबदरदारी सभा हो । मैले अन्तिमपटक विश्वासको मत लिँदै गर्दा पनि भनेको थिएँ, यो सरकार नयाँ बनेकोमा मलाई र मेरो दललाई कुनै चिन्ता छैन भनेर । यो सरकार कसका निम्ति र कसका लागि बन्यो भन्ने कुरा छर्लंगै छ, यो सरकार सुशासनविरुद्ध बन्यो अनि भ्रष्टाचारीलाई बचाउन बन्यो । त्योपनि रातको अँध्यारोमा बन्यो । यो सरकार दलालहरूको घरघरमा गएर रातको १२ बजे बन्यो । अप्राकृतिक संसर्गबाट बन्यो भनेको थिएँ,’ प्रचण्डले भने ।

उनले अगाडि थपे, ‘सय दिन नपुग्दै, जे चिन्ता गरेका थियौं, त्यो कुरा सरकार आफंैले पुष्टि ग¥यो । खबरदारी सभा राख्नेबित्तिकै सत्ता पक्षलाई एकठाउँमा राखेर सरकारले सडकबाट विकल्प खोज्ने भनिसक्यो । हामी सरकार ढाल्ने मुख्य काम बनाउने छैनौं भनेका थियौं । हामीले सरकारमा भएका कांग्रेस र एमालेलाई तपाईंहरू भ्रष्टाचारको रक्षाका निम्ति र बिचौलियाको पक्षमा जाँदै हुनुहुन्छ, तपाईंहरू आफंै कुहिरिएर झर्नुहुनेछ भनेका थियौं ।’

माओवादी अध्यक्ष प्रचण्डले आफूहरूले सरकार ढाल्न खबरदारी सभा नगरेको स्पष्ट पारे । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति के जिम्मेवारी पूरा गर्नुपर्छ भनेर हामीलाई गहिरोबोध छ । बरु, हामीले खबरदारीसभा गर्नेबित्तिकै सत्तापक्षमा आतंक देखाप¥यो । उहाँहरूले सरकार ढल्छ भन्नुभयो । सरकार ढल्छ भन्ने चिन्ताले अझ धेरै बेथितिविरुद्ध नजानुहोला, म यही खबरदारीसभाबाट चेतावनी दिन चाहन्छु ।’

उनले गणतन्त्र र संविधान माओवादीको त्याग, बलिदान र संघर्षको जगमा बनेको भन्दै त्यसको रक्षा आफूहरूको पहिलो दायित्व भएको सम्झाए । कांग्रेस र एमालेलाई दलाल, पुँजीपतिहरूको प्रतिनिधि पार्टीको संज्ञा दिँदै उनीहरूसँग विगतमा सहकार्य गरेर गल्ती गरेको प्रचण्डले स्वीकार्य गरेका छन् ।

प्रचण्डले भाटभटेनीका मालिक मीनबहादुर गुरुङ एमालेको भन्ने कुरा स्वयं एमाले अध्यक्ष ओलीले भनिसकेपछि आफू खुसी भएको बताए । उनले यसअघि भाटभटेनी नै प्रचण्डको हो भनेर लाग्ने गरेको आरोपबाट हैरान भएको सुनाउँदै अहिले भने त्यो आरोपबाट ओलीले सफाइ दिएको पनि बताए ।

‘भाटभटेनी प्रचण्डको भन्ने आरोप थियो, अब हाम्रो सरकारले मीनबहादुर गुरुङलाई गिरफ्तार गर्दा पनि हैरान, अहिले केपीजीले क्लियर गरिदिनुभयो । त्यसको सेयर होल्डर तपाईं रहेछ, मीनबहादुर एमालेकै हो भन्नुभयो । प्रचण्डको होइन भन्ने कुरा क्लियर गर्नुभयो । हामी खुसी छौं,’ प्रचण्डले भने ।

साथै उनले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेको भनेर हल्ला गरिएको भन्दै त्यसमा कुनै सत्यता नभएको दाबी गरे । उनले आफूलाई बदनाम गर्न गलत हल्ला फैलाइएको भन्दै खेद प्रकट गरे । उनले भने, ‘रवीन्द्र मिश्रले एउटा कार्यक्रममा सँगै हुँदा मसँग भेटौं भन्नुभयो ।

पूर्वपत्रकार भएको नाताले मैले भेट दिएँ, त्यसको पनि प्रचार भयो । अहिले ज्ञानेन्द्र शाहलाई भेट्यो भन्ने स्यालहुइँया छ । झापामा भेट्यो भनेर एकथरीले भने, अर्को वरिष्ठ पत्रकार किशोर नेपालले ज्ञानेन्द्र शाहलाई भेटे भनेर लेखिदिनुभएछ । भ्रामक र झुट कुरा हो । मैले भेटेको छैन । मलाई बदनाम गर्न ज्ञानेन्द्र भेट्यो भनेर भनियो ।’

The post ओलीलाई प्रचण्डको प्रश्नैप्रश्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102805/