तीन महिनामा धान र चामल आयात कम

काठमाडौं– नेपालमा चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा धान र चामलको आयात घटेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा चालु आर्थिक २०८१/०८२ वर्षको तीन महिनामा १ अर्ब रुपैयाँ बराबरको धान तथा चामलको आयात घटेको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा ४ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको धान चामल आयात भएको छ । सो रकम बराबर ७४ हजार ३३ मेट्रिक टन धान आयात भएको छ । गत आर्थिक वर्षको तीन महिनामा ५ अर्ब ६० करोड २३ लाख रुपैयाँको धान तथा चामल आयात भएको थियो । सो अवधिमा १ लाख ९ हजार मेट्रिक टन धान चामल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब २२ करोड रुपैयाँको धान र चामल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये ९० हजार मेट्रिक टन चामल आयात भएको छ । यसका लागि सो वर्ष नेपालबाट १० अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ । यस्तै, सोही वर्षमा ३ लाख १९ हजारको धान आयात हुँदा १२ अर्ब ५ करोड रुपैयाँ खर्च भएको भन्सार विभागको तथ्याङ्क छ ।

 

Source : https://onlinetvnepal.com/2024/11/185682/