दीपक मनाङे भन्छन- म कतै भागेको छैन, सर्वोच्चबाट पूर्णपाठ आएपछि आफै अदालत हाजिर हुन्छु

समाचार सुन्नुहोस : 

काठमाडौँ – गण्डकी प्रदेश सभाका सांसद एवं पूर्वमन्त्री रहेका दीपक मनाङेले आफूलाई भागेको भन्ने आरोप गलत भएको बताएका छन्‌ ।उनले फैसलाको पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका छन् । उनले मेरो बारेको समाचारका विषयमा धेरै दुख दिएकाले आफूले मोबाइल फोन अफ गरेको भन्दै सञ्चारमाध्यमले अनर्णल प्रचार गरिरहेको आरोप लगाएका छन्‌ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मनाङेले यस्तो बताएका हुन् । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भए लगत्तै उनी सम्पर्कविहीन भएको बताइएको थियो ।

उनले भनेका छन्- ‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहीन सञ्चारमाध्यमहरुबाट तारन्तार आइरहेका कलहरुले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु । यही विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको पाएको छु । यसमा मेरो आपत्ति छ । अन्तमाः सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’

मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । गत मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो ।

The post दीपक मनाङे भन्छन- म कतै भागेको छैन, सर्वोच्चबाट पूर्णपाठ आएपछि आफै अदालत हाजिर हुन्छु appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/495114/