देशभर २७ हजारभन्दा बढी डेंगु सङ्क्रमित
देशभरका २७ हजारभन्दा बढी डेंगु सङ्क्रमितमध्ये आधा बिरामी गण्डकी प्रदेशमा देखा परेका छन् ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २७ हजार १५३ जनामध्ये गण्डकीमा प्रदेशका १३ हजार ६९८ जनामा डेंगु सङ्क्रमण देखा परेको हो । देशभर माघ यता डेंगु पुष्टि भएको सङ्ख्यामध्ये ५० प्रतिशत बिरामी यही प्रदेशमा छन् ।
यस्तै, जिल्लागत रूपमा सबैभन्दा बढी कास्कीमा ७ हजार ८० जनामा डेंगु सङ्क्रमण भएको छ । काठमाडौँमा ४ हजार ६० जनालाई, तनहुँका २ हजार १९९ जनालाई र ललितपुरमा १ हजार ६० जनालाई डेंगु सङ्क्रमण भएको छ । यस्तै, चितवनका १ हजार ५७ जनालाई बाग्लुङका ९५१ जनालाई, गोर्खामा ७९९ जनालाई, भक्तपुरमा ६२८ जनालाई र कैलालीमा ४२४ जनालाई डेंगु सङ्क्रमण भएको छ ।
देशभर ७७ मध्ये ७६ जिल्लामा डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । ईडिसिडीका अनुसार देशभरका डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ ।
The post देशभर २७ हजारभन्दा बढी डेंगु सङ्क्रमित appeared first on Janakpur Today.