प्रधानमन्त्री ओली आफैं संविधान खारेज गर्ने षड्यन्त्रमा: प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्ने नाममा संविधान नै खारेज गर्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा संविधान खारेज गर्ने खेल भइरहेको बताएका हुन् ।
बयलगाडा सिद्धान्तवाला ओलीलाई संघीयता र गणतन्त्र मन परेको छैन, त्यसैले उनी यो संविधान खारेज गर्ने षड्यन्त्रमा रहेको प्रचण्डको निष्कर्ष
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान संशोधनभन्दा पनि संविधान खारेज गर्ने हतार रहेको उनले बताए । उनले एमाले नेतृत्वलाई संघीयता र गणतन्त्र मन नपरेको जिकिर गरे । गणतन्त्रका लागि जनअन्दोलन भइरहेका बेला ओलीले बयलगाडामा चढेर अमेरिका पुग्न नसकिने बताएको कुरा सम्झिँदै प्रचण्डले भने, ‘एमालेलाई संघीयता र गणतन्त्र धेरै मन परेको छैन, बयलगाडा सिद्धान्त हो उहाँ (एमाले नेतृत्व)हरूको, हिजो पनि संसद् विघटन गरेको होइन, संविधान विघटन हो ।’
सत्तारूढ नेपाली कांग्रेस र एमालेले सरकार गठनभन्दा अघि सातबुँदे सहमति गरेका थिए । त्यसमा संविधान संशोधनको एजेन्डासमेत रहेको छ । कांग्रेस र एमालेका शीर्ष नेताहरूले संविधान संशोधन गर्ने बताउँदै आएका छन् । राजनीतिक स्थयित्वका लागि संविधानमा संशोधन आवश्यक रहेको बुझाइ एमाले र कांग्रेसको रहेको छ ।
तर, प्रचण्डले अहिले संविधान संशोधनको विषय उठाए पनि एमालेको उद्देश्य त्यस्तो नरहेको टिप्पणी गरेका हुन् । वास्तवमा एमालेलाई यो संविधान नै मन नपरेकाले जसरी पनि खारेज गर्नुपर्ने षड्यन्त्र भइरहेको उनले बताए ।
यो सरकार संविधान संशोधनका लागि नबनेको उनले बताए । बरु, आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध अभियान चलाएकाले नयाँ गठबन्धन बनेको प्रचण्डले दोहो¥याए । ‘यो सरकारको संविधान संशोधन उद्देश्य होइन, सुशासन र भ्रष्टाचारविरुद्ध काम गरेपछि अप्ठेरोमा पर्ने भइयो भनेर बनेको हो,’ प्रचण्डले भने ।
संविधान संशोधनको विषय उठाउने अधिकार माओवादी केन्द्रलाई रहेको दाबी प्रचण्डले गरे । संविधान संशोधनभन्दा संविधान कार्यान्वयन महत्वपूर्ण विषय रहेको बताउँदै उनले प्रदेशलाई दिने भनेको अधिकार अहिलेसम्म नपाएको बताए ।
ओलीको दिमागमा संविधान कतिबेला च्यात्ने भन्ने कुरा मात्रै रहेको प्रचण्डको भनाइ थियो । कांग्रेसभन्दा एमाले संविधान खारेज गर्ने षड्यन्त्रमा रहेको उनको बुझाइ छ ।
‘खासगरी एमाले र यसको नेतृत्व गुट, नेपाली कांग्रेसभन्दा पनि एमाले नेतृत्व गुट अझ एमालेका प्रमुख नेता नै यो संविधान कतिबेला च्यात्ने होला भन्नेबाहेक उहाँको दिमागमा अरू केही छैन, मैले उहाँसँग मिलेर वामपन्थीहरू एकठाउँमा ल्याउन सकिन्छ कि भनेर धेरै जोडबल गरें, धेरै जोखिमहरू उठाएँ, खतरा मोलें, तर जति धोए पनि गधालाई गाई बनाउन सकिन्थेन, मूर्ख त मै भएँ, गधालाई धोएको छ, धोएको छ, एकपटक धोएर नहुने रहेछ भने पनि अर्कोपटक त नधोएको भए पनि हुन्थ्यो नि †’ पूर्वप्रधानमन्त्री पचण्डले भने, ‘तर, अब इनफ इज इनफ, अबचाहिँ भ्रममा पर्न आवश्यक छैन ।’
यस्तै, प्रचण्डले नेपाल नयाँ शीतयुद्धको ‘इपिसेन्टर’ बन्ने खतरा रहेको बताए । दक्षिण एसियामै विगत केही समयदेखि ठूलो राजनीतिक अस्थिरताको भुमरीमा जस्तो सरकार बन्ने र भत्किनेक्रम जस्तो किसिमले देखापरेको उनले बताए । प्रचण्डले श्रीलंका र बंगलादेशको उदाहरण दिँदै नेपालले पनि सचेतना अपनाउनुपर्ने बताए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमण’boutको प्रसंगमा प्रचण्डले ज्ञानेन्द्र शाह भुटान जाँदैमा नेपालमा राजतन्त्र नफर्किने दाबी गरे । ‘मलाई कहीँ कतै फेरि राजा आउने चाहिँ लाग्दैन सम्भव छैन, कतैबाट हेर्दा पनि त्यो सम्भव छैन,’ उनले भने ।
प्रचण्डले इतिहासको विकासको दृष्टिकोण, पूर्वराजा र उनको परिवारका कारणले पनि राजतन्त्र फर्किहाल्ने अवस्था नभएको बताए । प्रचण्डले भने, ‘इतिहासको विकासका दृष्टिकोणले पनि हामी राजतन्त्रबाट गणतन्त्रमा गइसकेका छौं, गणतन्त्रमा गइसकेका जनता सजिलै फेरि राजतन्त्रतिर फर्किने भन्ने अपवादबाहेक हुँदैन, राजा र उनको परिवारका कारणले पनि सम्भव छैन ।’
यस्तै, प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने पर्याप्त आधार नभएको भनेर कास्की जिल्ला अदालतले भनेको आफूले सुनेको टिप्पणी गरेका छन् । प्रचण्डले भने, ‘मैले सुनेको कुरा के हो भने त्यहाँ राजनीतिक चलखेल भइरहेको छ, थोरै अदालतले पनि तुरुन्तै एक्सनमा जान पर्याप्त आधार छैन भनेर कास्कीबाट भनिएको सुनेको छु, मलाई आधिकारिक हिसाबले अदालतबाट थाहा भएकोचाहिँ छैन, मलाई यो विषयचाहिँ रास्वपाकै नेताहरूले भन्नुभएको छ, नत्र अस्ति गिरफ्तार गर्ने अन्तिम तयारी भइसकेको थियो भन्ने पनि छ ।’
प्रचण्ड सुरुदेखि नै लामिछानेले सहकारी ठगेको भनेर प्रमाणित नभएको भन्दै बचाउ गर्दै आएका छन् । उनले आफूले राज्य संयन्त्र र सम्बन्धित निकायसँग प्रमाण भए दिन भनेर माग्दा कसैले पनि प्रमाण छ भनेर नभनेको जिकिर गरे । हालै चितवन गएका बेलामा पनि उनले लामिछानेले सहकारी ठगी गरेको भनेर छानबिन समितिले पनि नभनेको जिकिर गरेका थिए ।
The post प्रधानमन्त्री ओली आफैं संविधान खारेज गर्ने षड्यन्त्रमा: प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/102097/