फ्रिज भित्र ३० वटा टुक्रा पारेर राखेको अवस्थामा महिलाको शव फेला

एजेन्सी- भारतको बैंगलोरमा एउटा मुटु काप्ने खालको घटना सार्वजनिक भएको छ । जहाँ घरको फ्रिजभित्र महिलाको टुक्रा टुक्रा पारेको अवस्थामा शव फेला परेको छ ।

२९ वर्षकी महालक्ष्मी दास नामकी एक महिलाको क्षतविक्षत शव फेला परेको हो । महालक्ष्मीको फ्ल्याटबाट एकदमै नराम्रो गन्ध आएको भन्दै छिमेकीले उनको परिवारलाई खबर गरेका थिए । सोपछि गत शनिबार उनकी आमा ५८ वर्षीया मीना राना महालक्ष्मीको फ्ल्याटमा पुगिन् । तर उनी पुग्दा फ्लाटको ढोका बन्द थियो । त्यसपछि फ्लाटधनीसँग नक्कली चाबी मागेर उनी फ्लाटमा छिरिन् । फ्ल्याटमा पस्नेबित्तिकै उजले फ्रिज बाहिर कीरा देखिन् । फ्ल्याटमा दुर्गन्ध थियो र लुगा, चप्पल, झोला र सुटकेसहरू बैठक कोठामा छरिएका थिए।

सबैभन्दा डरलाग्दो दृश्य फ्रिज नजिकै थियो, जहाँ रगत बगेको दाग देखिन्थ्यो। जब उनले फ्रिज खोलेर हेरिन् त्यहाँ टुक्रा टुक्रा पारेर उनी छोरीलाई राखिएको थियो । उनले त्यस्तो भयानक अवस्था देखेपछि डराउँदै ज्वाईँ इमरानलाई खबर गरिन् । इमरानले तुरुन्तै प्रहरीलाई बोलाए ।

महालक्ष्मी र उनकी आमाबीच अन्तिम कुराकानी २ सेप्टेम्बरमा भएको थियो । त्यसपछि परिवारले उनीसँग सम्पर्क गर्न सकेनन् । महालक्ष्मीकी आमा फ्ल्याटमा गएपछि मात्रै अपराधको खुलासा भएको थियो । प्रहरी अनुसन्धानमा महालक्ष्मीको शव ३० टुक्रा गरी फ्रिजमा राखिएको पाइएको थियो । यो घटनाको बारेमा थाहा हुनुभन्दा ४–५ दिन अगाडि भएको अनुमान गरिएको छ ।

बारम्बार झगडाका कारण महालक्ष्मी श्रीमानसँगबाट अलग्गै फ्लाटमा बस्दै आएकी थिइन्। महालक्ष्मी मल्लेश्वरममा बसेकी थिइन् र नजिकैको कपडा कारखानामा काम गर्थिन् तर विगत दुई सातादेखि उनी काममा नगएको पनि प्रहरीले पत्ता लगाएको छ।

Source : https://onlinetvnepal.com/2024/09/183872/