बालुवाटार घेराउ गर्ने क्रममा रास्वपाका सांसद चौधरीसहित ३३ जना पक्राउ
काठमाडौँ – सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै बालुवाटारमा विरोध प्रदर्शन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक सांसदसहित करिब तीन दर्जन नेता-कार्यकर्ता पक्राउ परेका छन्। उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार बालुवाटारमा प्रदर्शन गरिरहेका ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा रास्वपा सांसद अशोक चौधरी पनि छन्।
प्रधानमन्त्री निवास नजिकै भएको विरोध प्रदर्शनका क्रममा नेपाल हाउस अगाडिबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। रास्वपाले आज १२ बजेबाट बालुवाटारमा विरोध कार्यक्रमको आयोजना गरेको थियो। जसमा नेता-कार्यकर्ता भेला भइरहेका बेला प्रहरीले हस्तक्षेप गरेको हो।
रास्वपाले पार्टी सभापति लामिछानेको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधका रूपमा लिँदै निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ। लामिछाने कास्की प्रहरीको हिरासतमा छन् भने रास्वपाले उनको रिहाइको माग गर्दै नाराबाजी गरिरहेको छ।
The post बालुवाटार घेराउ गर्ने क्रममा रास्वपाका सांसद चौधरीसहित ३३ जना पक्राउ appeared first on Samudrapari.