महेश गोदारले ६०० सैनिकलाई थाली नृत्य नचाएर बनाए कीर्तिमान
काठमाडौं । नृत्य निर्देशक एवम् प्राज्ञ महेश गोदार (महेश्वर सुनार)ले एकसाथ ६०० जना सैनिकलाई थाली नृत्यमा प्रस्तुत गरेर वल्र्ड बुक रेकर्ड बनाएका छन् । उनलाई यो प्रस्तुतिको लागि वल्र्ड बुक अफ रेकर्ड लन्डन, बेलायतले वल्र्ड बुक रेकर्डको प्रमाणपत्र प्रदान गरेको छ ।
नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले काठमाडौंमा एक समारोहबीच महेशलाई यो प्रमाणपत्र प्रदान गरेका हुन् । जसमा वल्र्ड बुक अफ रेकर्ड लन्डन, बेलायतको प्रतिनिधिको पनि उपस्थिति थियो । भ्याली पृतनापति सागरबहादुर थापाको विशेष सहयोग र नेपाली सेनाको विशेष पहलमा यो रेकर्ड प्राप्त भएको प्राज्ञ महेशले बताएका छन् ।
महेशले गत शिबरात्रीमा ६०० जना नेपाली सैनिकलाई काठमाडौंको टुँडिखेलमा एउटा गीतमा थाली नृत्य प्रस्तुत गराएका थिए । करिब दुई महिनाको निरन्तर अभ्यासपछि ६०० जना सैनिकले महेश गोदारको नृत्य निर्देशनमा थाली नृत्य प्रस्तुत गरेका हुन् । यही नृत्यका लागि यतिबेला महेशलाई वल्र्ड बुक अफ रेकर्ड लन्डनले वल्र्ड बुक रेकर्डको प्रमाणपत्र प्रदान गरेको हो ।
राष्ट्रिय नृत्य संघ नेपालका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य महेश गोदारले बिगत तीन दशकदेखि थाली नाच नाच्दै आएका छन् । नेपाल टेलिभिजनबाट प्रशारण भएको छमछमी नृत्य रियालिटी शोका पहिलो देखि चौथो सृँखलासम्म निर्णायक रहेका उनी लामो समयदेखि नृत्य निर्देशनमा सक्रिय छन् । नृत्य निर्देशक महेश गोदारले यो वल्र्ड बुक अफ रेकर्ड लन्डनको वल्र्ड रेकर्डले नृत्य निर्देशनमा अझ नयाँ काम गर्न थप उर्जा मिलेको बताएका छन् ।
The post महेश गोदारले ६०० सैनिकलाई थाली नृत्य नचाएर बनाए कीर्तिमान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/102146/