मेक इन इन्डिया: विश्वव्यापी उत्पादन हबमा भारतको उदय
काठमाडौँ । मेक इन इन्डिया कार्यक्रमले भारतलाई विश्वव्यापी उत्पादन हबमा रूपान्तरण गर्न अहम भूमिका खेलेको छ। २०१४ को सेप्टेम्बर २५ मा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शुरू गरिएको यो अभियानले केवल सरकारी कार्यक्रमको सीमामा सीमित नभई भारतको अर्थतन्त्र र विश्वदृष्टिकोणमा व्यापक परिवर्तन ल्याएको छ। यसको उद्देश्य भारतलाई उत्पादनको केन्द्रको रूपमा स्थापित गर्दै नवप्रवर्तन प्रोत्साहित गर्नु, विदेशी लगानी आकर्षित गर्नु र रोजगारीका अवसर सिर्जना गर्नु रहेको थियो। यसको प्रभावले भारतको आर्थिक वृद्धिलाई तीव्र दरमा अघि बढाउँदै उद्योगलाई सबल बनाएको छ र विदेशी लगानीका लागि आकर्षक गन्तव्यको रूपमा उभ्याएको छ।
सुरुवाती वर्षहरूमा कुल गार्हस्थ्य उत्पादन (GDP) मा १६% योगदान दिने उत्पादन क्षेत्रको हिस्सा २०२४ मा १७% मा पुगेको छ र यो प्रतिशतलाई २०३० सम्ममा २५% पुर्याउने लक्ष्य लिइएको छ। गुजरातको गिफ्ट सिटी र तमिलनाडुको सेमीकन्डक्टर केन्द्रजस्ता स्थानहरूले यस उद्योगिक परिवर्तनलाई थप गती दिएका छन्। नोएडा मोबाइल उत्पादनको केन्द्रका रूपमा स्थापित भएको छ, जहाँ २०१४ मा केवल २ युनिट थिए भने २०२४ सम्ममा ती २०० भन्दा बढीमा वृद्धि भएका छन्। यसबीचमा, २०१४-१५ मा ६ करोड मोबाइल सेट उत्पादन भएको थियो भने २०२२-२३ सम्ममा यो संख्या ३.१ अर्बमा पुग्न सफल भएको छ। भारत आज विश्वको दोस्रो ठूलो मोबाइल फोन उत्पादकको रूपमा खडा भएको छ।
विदेशी प्रत्यक्ष लगानी (FDI) मा पनि यो अभियानको प्रभाव स्पष्ट देखिन्छ। अप्रिल २००० देखि मार्च २०२४ सम्म भारतले कुल ९९०.९७ अर्ब डलरको FDI प्राप्त गरेको छ, जसमध्ये अप्रिल २०१४ देखि मार्च २०२४ सम्म मात्र ६६७.४१ अर्ब डलरको लगानी भित्रिएको छ। यसले भारतलाई विदेशी लगानीकर्ताहरूको प्रमुख गन्तव्यको रूपमा स्थापित गरेको छ। साथै, रोजगारीका अवसरमा पनि ठूलो वृद्धि भएको छ, २०१६-१७ देखि २०२२-२३ सम्म करिब १७ करोड नयाँ रोजगार सिर्जना गरिएको छ। सरकारी सुधारहरूले ४०,००० भन्दा बढी अनावश्यक प्रावधानहरू हटाएर लगानीकर्ताहरूको लागि कारोबार गर्न सहज बनाएको छ।
मेक इन इन्डियाले लघु तथा मध्यम उद्यम (MSME) क्षेत्रलाई सबल बनाउँदै लाखौँ व्यवसायहरूलाई दर्ता गर्न प्रोत्साहित गरेको छ। जुलाई २०२४ सम्ममा मात्रै ४.७ करोड उद्यमहरू दर्ता भएका छन्। रक्षा उत्पादनमा पनि आत्मनिर्भरता बढाउँदै भारतले आयातमा निर्भरता घटाएर २०२४ मा २१,०८३ करोड बराबरको रक्षा उत्पादन निर्यात गरेको छ। उत्पादन-सम्बन्धी प्रोत्साहन योजना (PLI) मेक इन इन्डिया २.० को महत्त्वपूर्ण हिस्सा बनेको छ, जसमा १४ मुख्य क्षेत्रहरूमा १.९७ लाख करोडको अनुदान दिइएको छ र २०२५-२६ सम्ममा ३.३५ लाख करोडको उत्पादन हासिल गर्ने लक्ष्य लिइएको छ।
यो अभियानले प्रविधिको क्षेत्रमा समेत महत्त्वपूर्ण परिवर्तन ल्याएको छ। धेरैजसो भारतीय कम्पनीहरूले २०२३ सम्ममा इन्डस्ट्री ४.० प्रविधि अपनाइसकेका छन्, र औद्योगिक इन्टरनेट अफ थिङ्स (IoT) को प्रयोगले २०२५ सम्म थप उन्नत उत्पादन प्रविधि ल्याउने अपेक्षा गरिएको छ। डिजिटल इन्डिया कार्यक्रमअन्तर्गत स्थापित केन्द्रहरूले (C4i4 Labs) डिजिटल निर्माणमा थप सुधार गर्दै नवप्रवर्तनलाई प्रोत्साहन गरिरहेका छन्। स्टार्टअप इन्डिया कार्यक्रमले पनि उत्पादन क्षेत्रमा उद्यमशीलतालाई प्रोत्साहित गरेको छ। मेक इन इन्डियाले भारतलाई न केवल घरेलु उत्पादनको लागि उत्कृष्ट बनाएको छ, तर विश्व बजारमा पनि भारतलाई एक महत्वपूर्ण खेलाडीको रूपमा स्थापित गरेको छ।