सङ्खुवासभा,भोजपुर अलैँची सुपर जोन सञ्चालक समितिको संयोजकमा शेर्पा चयन

सङ्खुवासभा । प्रधानमन्त्री कृषि परियोजना इकाई सङ्खुवासभा, भोजपुर अलैँची सुपर जोन सञ्चालक समितिको संयोजकमा पासाङ शेर्पा सर्वसम्मत चयन हुनु भएको छ । आज सदरमुकाम खाँदबारीमा भएको अलैँची सुपर जोन सञ्चालक समन्वय समितिको बैठकले ९ सदस्यीय समिति गठन गरेको छ । सङ्खुवासभा र भोजपुर दुई जिल्ला जोडेर गत साउन महिना देखि अलैचीं र सुन्तलालाई सुपर जोन कार्यक्रम घोषणा गरिएको थियो ।

शेर्पाको संयोजकत्वमा भोजपुर जिल्लाका ४ जना र सङ्खुवासभाका ५ सहित ९ सदस्यीय अलैँची जोन सञ्चालक समिति गठन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए । समितिको सदस्यमा सङ्खुवासभाका रामलाल भोटे,दिनेश राई,लक्ष्मी राई,बविता विश्वकर्मा र भोजपुरका चन्द्रकला विष्ट, दत्तराम राई,गुणराज राई र रिकमान तामाङ चयन भएका छन् । विधान र निर्देशिका अनुसार नै सुपर जोन सञ्चालक समिति गठन गरिएको प्रमुख गुरुङले बताए ।

अलैँची सुपर जोन सञ्चालक समितिको कार्यकाल २ वर्ष रहने प्रावधान छ । अलैचीँ खेती बिस्तार गर्दै कृषकले उत्पादन गरेको अलैँचीको बजारिकरण र प्रशोधन कार्यलाई प्राथमिकता समेत राखेको प्रमुख गुरुङले बताए । कृषिमा आधुनिक प्रविधि भित्र्याएर आत्मनिर्भरता बढाउने उद्देश्यले ६ वर्षयता परियोजना सञ्चालनमा ल्याइएको हो ।

अलैंची सुपर जोन २३ सय १३ हेक्टरमा र सुन्तला सुपर जोन तर्फ ६ सय ८७ हेक्टरमा सुपर जोन कार्यक्रम सञ्चालनमा छ । अलैंची सुपर जोन कार्यक्रम सङ्खुवासभाका १० स्थानीय तहका ३६ वडा र भोजपुरका ६ स्थानीय तहका ३० वडामा सञ्चालन भइरहेको छ ।

कार्यक्रममा बोल्नु हुँदै भेटेरिनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रका प्रमुख हिमालय पोखरेलले अलैचीँ सञ्चालन समितिले स्थानीय तह सँग सहकार्य गरेर अघि बढ्न सुझाव दिए । परियोजनाका लागि आगामी यो बर्ष पुँजीगत तर्फ २० लाख रुपैयाँ र चालु तर्फ ४ करोड ४७ हजार बजेट विनियोजन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाईले अलैचीं, सुन्तला,धान,मकै, गँहु, आलु तरकारी, माछा लगायतका कृषि क्षेत्रमा काम गर्दै आएको छ ।

The post सङ्खुवासभा,भोजपुर अलैँची सुपर जोन सञ्चालक समितिको संयोजकमा शेर्पा चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101868/