सदाचारी प्रणालीको विकास गर

विशेष गरी हामीकहाँ सरकारी र सार्वजनिक क्षेत्रमा रहने राजनीतिक एवं प्रशासनिक क्षेत्रमा सदाचारिताको माग आम सर्वसाधारणबाट लगातार भइरहेको छ । शासकहरुमा सदाचारिताको अभाव हुँदा भ्रष्टाचार बढ्न पुगेको र विकास तथा समृद्धिमा अवरोध सिर्जना भइरहेको देखिन्छ। त्यसैले सदाचारिता शासकहरुको लागि अनिवार्य सर्त बनाइनुपर्छ भन्ने माग सर्वत्र उठिरहेको हो।

अवसरको चाङमा बसेको सार्वजनिक अधिकारीलाई अधिकार बेचेर आर्थिक सुरक्षा प्राप्त गर्ने अपूर्व अवसर प्राप्त भएको हुन्छ। तर उसमा नैतिकता र सदाचार छ भने त्यस्तो गलत कार्य उसले गर्दैन । व्यक्तिगत फाइदासँग शक्तिको साटफेर भ्रष्टाचार हो । सार्वजनिक अधिकारी सार्वजनिक हित प्रवद्र्धनको लागि मात्र नियुक्त भएका हुन्छन्, भ्रष्टाचार गर्न होइन । यस अर्थमा भ्रष्टाचार सार्वजनिक अधिकारीको समान्य होइन, विचलित व्यवहार हो । सदाचार प्रवद्र्धन गर्ने भनेको शक्तिको व्यापार गर्ने असंख्य अवसरबाट घेरिएको निर्वाचित वा नियुक्त सार्वजनिक अधिकारीलाई भ्रष्टाचार गर्नबाट रोक्ने हो ।

सर्वकालिक र सार्वभौमिकरुपमा विद्यमान भए पनि भ्रष्टाचार एक सामाजिकरुपमा अनैतिक र आर्थिकरुपमा आपराधिक गतिविधि हो । भ्रष्टाचारले सार्वजनिक लगानीलाई विचलित र नाश गराउँछ, निजी क्षेत्रमा आर्थिक अदक्षता बढाउँछ, सामाजिक सद्भाव खलबल्याउँछ, सरकारमाथिको विश्वास र भरोसा कमजोर पारिदिन्छ भने नागरिकमा निराशाको सञ्चार गराउँछ। भ्रष्टाचारले आर्थिक, सामाजिक, राजनीतिक वा वातावरण सबै क्षेत्रमा नकारात्मक असर पार्दछ। भ्रष्टाचारको व्यापकता भएको नेपालजस्ता कम विकसित मुलुकमा आर्थिक, सामाजिक विकासमा भ्रष्टाचारले महत्वपूर्ण अवरोध पुर्‍याउँछ। एक अध्ययनमा भ्रष्टाचारले मुलुकको आर्थिक वृद्धिमा ३ प्रतिशतसम्म घटाएको पाइएको छ।

भष्टाचारविरुद्ध ५० वर्षअगाडि नै अग्रसरता लिने नेपाल दक्षिण एसियाली मुलुक हो। भ्रष्टाचार नियन्त्रणको लागि विश्वमा प्रचलित सबै अविष्कारलाई नेपालले अनुशरण गरेको छ। तर, उपलब्धि निराशाजनक छ। ट्रान्सपरेन्सी इन्टनेसनलका सन् १९९३ देखिका सबै प्रतिवेदनमा नेपालको स्थान बढी भ्रष्टाचार हुने देशको समूहमा करिब एकै स्तरमा खालि एक–दुई स्थान तल–माथि मात्र सर्ने गरेको छ । बढ्दो र फैलिँदो भ्रष्टाचार नेपालको विकास प्रयासमा प्रमुख अवरोधक हो ।

विज्ञहरुका अनुसार भ्रष्टाचार उन्मूलन गर्न नसकिए पनि घटाउनचाहिँ सकिन्छ भन्दछन् । सिंगापुर, थाइल्यान्ड, हङकङ आदि देशको अनुभवले छोटो अवधिमा पनि भ्रष्टाचार नियन्त्रणमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने देखाएको छ। कम विकसित देशमा भ्रष्टाचारको प्रमुख स्रोत सार्वजनिक कोष हो। निर्वाचन परिचालनको लागि बढ्दो खर्च, सदावहारको उन्मुक्ति, कर्मचारीको न्यून तलव, नियन्त्रण निकायमा देखिने राजनीतिक प्रभाव आदिका कारण नेपालमा भ्रष्टाचार मौलाएको छ। कठोर राजनीतिक प्रतिबद्धता, राजनेताको त्याग र बलिदान, भ्र्रष्टाचार विरोधी निकायको पुनः संरचना, सम्पत्ति र आम्दानीमा पारदर्शिता, सार्वजनिक अधिकारी र सर्वसाधारणको व्यवहार परिवर्तन अनि भ्रष्टाचार विराधी कानुन कार्यान्वयनमा प्रभावकारिताबाट भ्रष्टाचार घट्ने अन्तर्राष्ट्रिय अनुभवले देखाएको छ ।

त्यसै गरी शासकीय अंगहरुबीच नियन्त्रण र सन्तुलनको व्यवस्था, सार्वजनिक गतिविधिमाथिको तेस्रो आँखाकोे बलियो निगरानी, स्वतन्त्र सञ्चारमाध्यम, नागरिक समाजको संरक्षण र प्रवद्र्धन, निर्वाचन खर्चमा नियन्त्रण, मतदाता शिक्षा, कम खर्चिलो निर्वाचन प्रणाली र सरकार संञ्चालन व्यवस्था, सरकारका गतिविधिमा नागरिकको सहभागिता अभिवृद्धि, प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्था, उदार अर्थ राजनीतिजस्ता उपायले पनि सदाचार कायम गर्न सघाउने हुन्छ। सदाचारको विकास गराउन सकेमा भ्रष्टाचारमा कमी आउँछ । त्यसैले मुलुकमा सदाचारी प्रणालीको विकास गर्न जरुरी छ।

Source : https://newsofnepal.com/2024/09/23/669437/