हवाई भाडा बढेपछि पर्यटनमन्त्रीले गरे परराष्ट्र र श्रममन्त्रीसँग छलफल

समाचार सुन्नुहोस :

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको कारण दैनिक १० घण्टा बन्द हुने भएपछि हवाई भाडा बढेको छ। यसले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई कठिनाइ थपेको छ। यसबारे गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी र वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।

छलफलमा नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न पुनः अनुमति दिने र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानहरूका लागि सहजीकरण गर्ने विषयमा कुराकानी भएको छ। व्यवसायीहरूले हवाई भाडामा एयरलाइन्स र ट्राभल एजेन्सीहरूको मिलेमतो (कार्टेलिङ) भएको भन्दै सरकारलाई कडा कदम चाल्न आग्रह गरेका छन्।

परराष्ट्रमन्त्री देउवाले टिकट कटौती गर्दा सरकारलाई घाटा भएको तर यात्रुहरूको समस्यालाई मध्यनजर गर्दै दिल्लीबाट उडानका लागि दूतावासमार्फत पहल गर्ने बताइन्। श्रममन्त्री भण्डारीले मानव तस्करी बढेपछि दिल्लीबाट उडान रोकिएको उल्लेख गर्दै भैरहवा र पोखराबाट उडान भर्न आग्रह गरेका छन्।

The post हवाई भाडा बढेपछि पर्यटनमन्त्रीले गरे परराष्ट्र र श्रममन्त्रीसँग छलफल appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/495135/