हिमालयन क्यापिटल लिमिटेडद्वारा लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रमहरु सम्पन्न
काठमाडौँ । हिमालयन क्यापिटल लिमिटेडले लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रमहरु सम्पन्न गरेको छ । विश्व लगानीकर्ता सप्ताह-२०२४ को अवसरमा क्यापिटलले प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिका, प्यूठानमा कात्तिक ९ गते शुक्रबारको दिन लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।
पूँजी बजारको दिगो बिकासमा सदैव प्रतिबद्ध रहेको यस हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै पूँजी बजारको बिकास गर्नका निम्ति विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
हिमालयन क्यापिटल लिमिटेडका तर्फाबाट प्रमुख संचालन अधिकृत,राम प्रसाद भट्टराईबाट उक्त कार्यक्रममा सहभागीहरुलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरु, पूँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया, धितोपत्रको दोश्रो बजारको प्रकृति, र सामूहिक लगानी कोष सम्बन्धि जानकारी प्रदान गर्दै छलफल गरिएको थियो ।
साथै, पूँजी बजारको निरन्तर बिकासको निम्ति भावी पुस्तालाई पूँजी बजार र यसको प्रकृतिको सम्बन्धमा जानकार बनाउन सहयोग गर्ने उद्देश्यको साथ कार्यक्रम संचालन गरिएको थियो। त्यस्तै, उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमबाट प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिका, प्यूठानका स्थानीयहरु लाभान्वित हुने बिश्वास रहेको छ । कार्यक्रमका सहभागी सदस्यहरुले विश्व लगानीकर्ता सप्ताह-२०२४ को अवसरमा यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोग जस्ता बिषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त कार्यक्रम ज्यादै उपयोगी रहेको तथा सेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।
हिमालयन क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय-समयमा सेयर तथा पूँजी बजारसंग सम्बन्धित कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यो विश्व लगानीकर्ता सप्ताह इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसन (आइओएससीओ) को आव्हानमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाईने गरिन्छ ।
Source : https://arthasarokar.com/2024/10/himalayan-capital-5.html