अलबिदा पूर्वसभामुख ढुंगाना

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याबाट पीडित ढुंगानाको काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे निधन भएको हो ।

उनी १७ वर्षदेखि सुगर र प्रेसरको स्वास्थ्य समस्या झेल्दै आएका थिए । उनी एक महिनादेखि कलेजोसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए । पूर्वसभामुख ढुंगानाको आज सोमबार मात्र अन्त्येष्टि गरिने भएको छ । बेलायतमा रहेका छोरा फर्किन समय लाग्ने भएकाले अन्त्येष्टि आज मात्र गर्न लागिएको हो । ढुंगानाका भान्जा सुुरज भट्टराईले सोमबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताए ।

दिवंगत ढुंगानाका दुई छोरामध्ये छोरा डा. निमेष ढुंगाना म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गर्छन् । ढुंगानाका अर्का छोरा निशेष र छोरी नीतिका भने नेपालमै छन् ।

पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाएका थिए । २०२८ सालमा नेपाल बार एसोसिएसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेसामा पनि लागे । २०२८ सालदेखि वकालतमा सक्रिय रहेका ढुंगाना २०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनी २०४८ सालदेखि २०५१ सालसम्म सभामुख भएका थिए । सभामुख रहँदा उनी प्रतिपक्षीको संरक्षक बनेको भन्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला उनीसँग रुष्ट बनेका थिए ।

प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमालेप्रति सभामुख हुँदा नरमपन्थी भएका कारण उनीसँग कोइराला रुष्ट थिए । वामपन्थीहरूलाई संसदीय व्यवस्थाप्रति आस्था जगाउने ठाउँ भनेको पनि संसद् भएको उनको मान्यता थियो । संसद्मा पूरा ठाउँ दिएन भने उनीहरू सडकबाहिर जान्छन् र यो व्यवस्था नै गलत भन्छन् भन्ने चिन्ता ढुंगानामा थियो । त्यसैले, उनी वामपन्थीहरूप्रति सभामुख हुँदा नरम बने । तर, तत्कालीन प्रधानमन्त्री कोइराला सोही कारणले रुष्ट बने । त्यसपछि उनी निर्वाचन लडे पनि जित भने हात पार्न सकेनन् । उनले कांग्रेसको विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा विद्या भण्डारीसँग पराजित भएपछि ढुंगाना शान्ति अभियानमा खुलेर लागेका थिए । शान्ति अभियानमा लाग्दा ढुंगाना काठमाडौंबाट कांग्रेस महासमिति सदस्य थिए । अवधि सकिएपछि २०५४ सालबाट उनले नेपाली कांग्रेसको सदस्यता नवीकरण गरेनन् । पार्टी राजनीति गरेर सत्तामा पुग्नुभन्दा शान्ति अभियानमै पूर्ण रूपमा लाग्दा राष्ट्र र लोकतन्त्रको सर्वोत्तम सेवा हुने निष्कर्षमा उनी पुगेका थिए । त्यसपछि ढुंगानाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुपर्छ भन्ने भूमिकामा रहेर शान्ति अभियान सुरु गरे ।

उनी २०७४ सालको आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए । पूर्वसभामुख ढुंगानाको परिचय एउटै छैन । पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक करिअर प्रारम्भ गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाएका छन् । २०२८ सालमा नेपाल बार एसोसिएसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षणमा पनि लागे ।

कानुनका विद्यार्थी ढुंगानाले विद्यार्थी आन्दोलनबाट आफ्नो पेसा र राजनीति सँगसँगै लगेका थिए । केही समय श्रमजीवी पत्रकारिता तथा शिक्षण पेसामा लागेका उनले २०२७ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को स्थापनापछि विद्यार्थी क्षेत्र छोडी सक्रिय वकालत पेसा सुरु गरेका थिए । २०२८ सालमा उनको विवाह भएको थियो । २०४६–२०४७ सालको आन्दोलनमा नेपाली कांग्रेसको प्रवक्ता बनेका थिए । आन्दोलनकारीको हैसियतमा र वरिष्ठ अधिवक्ता पनि भएकाले नेपाली कांग्रेसका तर्फबाट संविधान निर्माणमा उनी सक्रिय बनेका थिए ।

ढुंगानाको निधनप्रति कसले के भने ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष देउवाले पूर्वसभामुख ढुंगानाको निधनमा दुःख व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जामा लेखेका छन्, ‘पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको खबरले स्तब्ध भएको छु, नेपालको लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा उहाँको योगदान महत्वपूर्ण थियो ।’ साथै, देउवाले ढुंगानाको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदनासमेत व्यक्त गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ढुंगानाको निधनको खबरले आफूलाई मर्माहत बनाएको पनि बताएका छन् । ‘पञ्चायतकालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नुभएका दमननाथ ढुंगानाले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाज अगुवाको पहिचान बनाउनुभएको र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदानलाई मुलुकले सधैं स्मरण गरिरहनेछ,’ राष्ट्रपति पौडेलको भनाइ छ ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख ढुंगानाको निधनको खबरले आफूलाई दुःखी बनाएको बताएका छन् । ‘२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्धनमा उहाँको योगदान सम्झिरहेको छु ।’

त्यस्तै, ढुंगानाको निधनप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् । दाहालले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको खबरले आफूलाई दुःखी बनाएको बताएका छन् । अध्यक्ष दाहालले ढुंगानाले देशको राजनीतिक र सामाजिक परिवर्तनमा पु¥याएको योगदान नेपाली जनताले सम्झिरहने बताएका छन् ।

उनले ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदनासमेत व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण व्यक्तित्व, पूर्वसभामुख, मानवअधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुंगानाको निधनको खबरले दुःखी बनाएको छ, नेपाल र नेपाली जनताले देशको राजनीतिक तथा सामाजिक परिवर्तनमा उहाँले पु¥याउनुभएको योगदानलाई सदैव सम्झिरहनेछन्, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

त्यस्तै, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वसभामुख ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानन्यायाधीश राउतले महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर ढुंगानाप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन् । वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको स्वकीय सचिव रुद्र शर्माले जानकारी दिए । ढुंगानाको अन्त्येष्टि सोमबार पशुपति आर्यघाटमा गरिने शर्माले बताए ।

The post अलबिदा पूर्वसभामुख ढुंगाना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103942/