असोज १३ मा इक्यान मेला

काठमाडौं ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ इक्यानले असोज १३ गते १५ औँ मेला आयोजना गर्न लागेको हो ।

मेला विहान १० बजे देखि वेलुका ५ बजे सम्म आयोजना गर्दैछ । यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउन सकुन भन्ने अपेक्षा सहित मेला आयोजना गर्न लागेको अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए।

मेलामा करिब १५ हजार भन्दा वढि विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । यस मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको छ । यस मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुने अध्यक्ष भट्टराईले जानकारी दिए ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको प्रमुख उद्देश्य रहेको छ ।

वनअप प्रालिको व्यवस्थापनमा यो मेला सम्पन्न हुँदैछ । यस मेलाको टाइटल स्पोन्सर को रुपमा रियल ड्रिम्स एजुकेशन कन्स्ल्टेन्सी रहेको छ । इन एसोसियसनको को रुपमा भेड इन्टरनेश्नल एजुकेशन रहेको छ । मेलाको प्रायोजन केआइसि, अर्बिट इन्टरनेशनल एजुकेशन,नोबल ऐजुकेशन प्रालि, वाइड रेन्ज रहेका छन् ।

मेलाको आइएलसटीएस पार्टनर ब्रिटिस काउन्सील छ । कोभिड–१९ महामारी पछि इक्यानले पहिलो मेला आयोजना गरेको हो । मेला आयोजना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृति लिएको महासचिव दिपकराज भुषालले जानकारी दिए ।

विद्यार्थीहरूको उच्च शिक्षाको सपना साकार पार्न यो शैक्षिक मेला एक महत्वपूर्ण प्लेटफर्मको रूपमा प्रस्तुत हुनेछ । यस मेलाले विशेष गरी विदेशमा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई विश्वका विभिन्न शिक्षण संस्थाहरू, तिनका शैक्षिक प्रणालीहरू, पाठ्यक्रमहरू, भर्ना प्रक्रिया, र अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त डिग्रीहरूबारे विस्तृत जानकारी प्रदान गर्नेछ । यसै गरी विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न आवश्यक योग्यता, कागजातहरू, भिसा प्रक्रियादेखि छात्रवृत्ति अवसरहरूसम्म प्रत्यक्ष परामर्श प्राप्त गर्न सक्नेछन् ।

मेलामा सहभागी हुने विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न पाउनेछन्, जसले गर्दा उनीहरूलाई आफ्नो शिक्षा र करियरको योजना बनाउन थप सहज र स्पष्ट हुने अपेक्षा गरिएको छ ।

मेला विशिष्ट रूपमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप तयार पारिएको शिक्षण सामग्री र परामर्शहरू प्रदान गरेर नेपाली विद्यार्थीहरूको ज्ञान, सीप र बौद्धिक क्षमतामा उल्लेखनीय वृद्धि गर्ने अवसर बन्नेछ । शैक्षिक परामर्शदाताहरुको सहभागीता हुने यस बृहत शैक्षिक मेलाका अधिकांश स्टलहरु बुक भईसकेको सोमबार आयोजित पत्रकार सम्मेलन मा जानकारी दिएको छ ।

Source : https://newsofnepal.com/2024/09/23/669517/