उपनिर्वाचनकाे तयारीमा जुटे राजनीतिक दल र उम्मेदवार
काठमाडौं ।
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको तयारीमा यतिबेला राजनीतिक दल र उम्मेदवारहरू जुटेका छन् ।
विभिन्न जिल्लाका स्थानीय तहका ४४ स्थानमा हुने उपनिर्वाचनको प्रचारमा राजनीतिक दल र उम्मेदवारहरू लागेका छन् । उम्मेदवारहरू अहिले घरदैलो लगायतका चुनावी प्रचार अभियानमा छन् । दोलखाको दुर्गम हिमाली गाउँ गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदको उम्मेदवार भनेकी उमा शेर्पा अहिले आफ्नो चुनावी प्रचार अभियानमा व्यस्त छिन् ।
शेर्पा घर दैलो तथा विभिन्न चुनावी कार्यक्रममा लागेकी छन् । जनताको हरेक सुख–दुःखमा साथ रहने प्रतिविद्धताका साथ उमा मतदाताको घरदैलोमा पुगेकी छन्। नागरिकले आफूप्रति धेरै आस गरेकाले त्यो आशालाई मर्न नदिने उनको प्रतिबद्धता छ । गाउँमा भएका विकासका अधुरा कामलाई पुरा गर्दै अघि बढ्ने उनले बताइन् । नागरिकका समस्या आफूले सकेसम्म समाधान गर्ने शेर्पाको प्रतिबद्धता छ ।
‘म काठमाडौंमा बसेर होइन, गाउँमा नै बसेर काम गर्छु भनेर आएको छु’, उनले भनिन् । गौरीशंकर गाउँपालिका आफ्नो घर र त्यहाँका जनता आफ्नो परिवार भएकाले आफ्नो परिवारलाई अप्ठेरो पार्ने काम कहिल्यै नगर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् । शेर्पा गौरीशंकर गाउँपालिका–७, मार्वु सिक्पाश्वरकी स्थायी बासिन्दा हुन् । २०४६ साल फागुन २ गते ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा जन्मएकी हुन् ।
सामाजिक र व्यवसायी क्षेत्रमा क्रियाशील शेर्पा कराँते खेलाडी समेत हुन् । २०७२ को भूकम्प, कोभिड महामारी तथा बाढी पहिरो लगायतका समयमा उनले पीडितको सहयोगका लागि धेरै काम गरेकी छन् । लायन्स क्लबमा आबद्ध भएर उनले सामाजिक क्षेत्रमा काम गर्दै आएकी छन् ।
देश निर्माणको जिम्मा एमालेले लिएको बताउँदै उनले आफू पार्टीले लिएको त्यही अभिभारा पुरा गर्न गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनेको बताउनुभयो । नागरिकको अभिमत एमाले र आफूले मर्न नदिने बताउँदै उनले मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गरेकी छन् ।