जापानको विमानस्थलमा पड्कियो दोस्रो विश्वयुद्धताका अमेरिकाले फ्याकेको बम
टोकियो– जापानमा दोस्रो विश्वयुद्धको समयताका अमेरिकाले फ्याकेको बम विष्फोट भएको छ । दक्षिण पश्चिम जापानको मियाजाकी विमानस्थलमा बुधबार सो बम विष्फोट भएको हो ।
ट्याक्सी हिँड्ने बाटोमा बम विष्फोट भएको थियो । विष्फोटको समयमा आसपासमा कुनै विमान नहुँदा ठूलो क्षति भने हुन पाएन । विष्फोटका कारण ट्याक्सी वेमा ७ मिटर ब्यासको १ मिटर गहिरो खाल्डो परेको छ । यो घटनापछि विमानस्थलबाट हुने ८० वटाभन्दा धेरै उडान रद्द गरिएको मन्त्री परिषद्का मुख्यसचिव योशिमासा हायाशीले भनेका छन् ।
आत्मरक्षा बल र प्रहरीले गरेको अनुसन्धानले विष्फोट भएको बम ५०० पाउन्ड तौलको अमेरिकाले फ्याकेको बम भएको खुलासा भएको छ । विष्फोटपछि अरु खतरा नभएको बताइएको छ । बम के भएर पड्कियो भन्ने खोजी भइरहेको छ ।
मियाजाकी विमानस्थल सन् १९४३ मा बनाइएको थियो । यसलाई पूर्वशाही जापानी हवाई सेनाको उडान तालिम क्षेत्रको रुपमा बनाइएको थियो । यस क्षेत्रमा दोस्रो विश्व युद्धयताका अमेरिकी सेनाले फ्याकेको तर विष्फोट भइनसकेका कयौं बम रहेको रक्षा मन्त्रालयका अधिकारीले बताएका छन् । जापानभर अझै पनि विश्वयुद्धको समयको सयौं टन विष्फोट नभएका बम पुरिएर बसेका छन् ।