ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
भक्तपुर ।
भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
चाँगुनारायणबाट डेकोचातर्फ आउँदैं गरेको ना २ त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका–५ पिखेलमा दुर्घटना हुँदा सोही ठाउँका ४५ वर्षीय गोविन्द सुवालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका सुवाललाई भक्तपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो । त्यही सुवालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा पाँच जना घाइते भएकोमा भक्तपुर नगरपालिका–२ व्यासीका ४८ वर्षीय गणेश सुवालको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । चार जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले बताउनुभयो ।
उपचारपछि डिस्चार्ज हुने घाइतेहरुमा चाँगुनारायण नगरपालिका वडा नं. ५ .बस्ने ३५ वर्षिय राधिका अवाल, ६० वर्षिय गोपाल कोजु, ४४ वर्षिय राधेश्याम सितिखु र ७४ वर्षिया पुर्णकेशरी शिल्पकार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।