दमननाथलाई राजकीय सम्मान !

काठमाडौं ।


पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा सोमबार अपराह्न ढुंगानालाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।


ढुंगानालाई छोराहरू निमेष र निशेषले दागबत्ती दिएर अन्तिम बिदाइ गरे । त्यसक्रममा नेपाली सेनाको एक टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो । त्यसअघि सोमबार उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि गौशाला नजिकै सानोगौचरनमा राखिएको थियो ।

त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । श्रद्धाञ्जली अर्पण गर्न पूर्वराष्ट्रपति डा. रामवरण यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, सभामुख देवराज घिमिरे, सभामुख इन्दिरा रानालगायत सबै दलका प्रायः नेताहरू पशुपति आर्यघाट पुग्नुभएको थियो ।


सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानसाथ गरिने र सोमबार नै एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेर उहाँको सम्मान बढाएको छ । नेपाली कांग्रेसले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको सम्मानमा मंसिर ३ र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको सो पार्टीका सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

८३ वर्षीय ढुंगानाको उपचारका क्रममा आइतबार निधन भएको थियो । २०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख ढुंगानाको निधनप्रति राज्यका सबै निकाय र उहाँलाई चिन्नेहरूले विभिन्न माध्यमबाट दुःख व्यक्त गरेका छन् ।

उहाँको अन्तिम बिदाइ अघि गौचरण पुगेका शुभेच्छुक शुभचिन्तकहरूले उहाँको पार्थिव शरीरमा फूलमालासहित श्रद्धाञ्जली अर्पण गरेका थिए । नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा कलेजो रोगको उपचार गरी तिहारअघि काठमाडौं फर्कनुभएको थियो । पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित ढुंगानाको राजधानीको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।


नेपाली कांग्रेसका नेता तथा वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुखको जिम्मेवारीमा हुनुहुन्थ्यो । तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उहाँको पनि भूमिका महत्वपूर्ण रहेको नेपाली राजनीतिमा उहाँको चर्चा हुने गरेको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमार्फत राजनीतिमा आएर चर्चित राजनीतिकर्मी हुँदै सभामुखको आसनमा पुग्नुभएका ढुंगाना त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विसं.२०१९ देखि २०२० सम्म स्ववियु सभापित हुनुहुन्थ्यो ।


तत्कालीन सभापति नवराज सुवेदीले विद्यार्थी आन्दोलनलाई साथ नदिई निर्दलीय व्यवस्था प्रवेश गरेकाले विशेष साधारण सभाबाट उहाँलाई हटाई उपसभापति रहेका ढुंगानालाई सर्वसम्मतिबाट सभापति बनाइएको थियो । आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई सभामुख बन्नुभएको उहाँ निकट नेताहरूले बताए ।


ढुंगानाका छोरा डा. निमेष ढुंगाना बेलायतको म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गराउनुहुन्छ भने उहाँका अर्का छोरा निशेष र छोरी नीतिका नेपालमै छन् । उहाँको अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस, संघीय संसद सचिवालय र नेपाल बार एसोसिएसनमा राख्न प्रस्ताव आए पनि कतै नराख्ने निर्णय गरेको परिवारले सबैलाई एकै ठाउँमा हुने गरी गौचरणमा राखिएको पारिवारिक स्रोतको भनाइ छ । सभामुख हुँदाका बखत उहाँको भूमिका निकै प्रशंसनीय रहेको राजनीतिक वृत्तमा निकै चार्चायोग्य छ ।

Source : https://newsofnepal.com/2024/11/19/678802/