दशैँ : शक्ति साधन गर्ने महत्वपूर्ण चाड
प्रकृतिको वरदान र देनस्वरूप युगौंदेखि चलिआएको ६ ऋतुमध्ये शरद ऋतु मनमोहक, आनन्ददायी र रमाइलो हुन्छ । यस ऋतुमा न त जाडो हुन्छ, न त गर्मी नै हुन्छ । मौसम पनि अनुकूल भएको हुन्छ । यसै शरद ऋतुमा दशैँ अर्थात् नेवारीमा मोहनी पर्दछ । यस विषयमा पनि अन्य विषयमा जस्तै आध्यात्मिक र वैज्ञानिक चिन्तनबीच वैचारिक द्वन्द्व चल्दै आएको देखिन्छ । यस क्रमले यद्यपि निरन्तरता पाइरहेकै छ ।
आश्विन महिनाको कृष्णपक्षको प्रतिपदादेखि अमावश्यासम्मको अवधिलाई पितृपक्ष भनिन्छ । उक्त अवधिभर दिवंगतहरु अर्थात् पितृहरूको सम्झनामा श्राद्ध गरिन्छ। पितृपक्ष समाप्त भएको लगत्तै आश्विन शुक्ल पक्षको प्रतिपदादेखि पूर्णिमासम्मको अवधिलाई दुर्गापक्ष भन्ने चलन छ।
दशैँ (मोहनी) सनातन धर्मीहरूको लागि शक्ति साधन गर्ने एक महत्वपूर्ण चाडको रूपमा लिन सकिन्छ। नेपालीहरुको लागि दशैँ एक महत्वपूर्ण हर्षोल्लास मानाउने चाडपर्व हो। दशैँमा देवी शक्तिको आराधना गरी पूजा गरिन्छ। शास्त्रमा शक्ति शब्दका अनेक अर्थ पाइन्छ । जस्तो कि शक्ति भन्नाले बल, पराक्रम, सामथ्र्य आदि बुझिन्छ । विष्णुपुराणले शक्तिलाई परा, अपरा तथा अविद्या शक्तिको रूपमा विभाजित गरेको छ । पराशक्तिलाई सर्वश्रेष्ठ शक्तिको रुपमा व्याख्या गरिएको छ भने अपराशक्तिलाई चैतन्य शक्तिको रूपमा लिनुका साथै अविद्या शक्तिलाई मायामोहको शक्तिको रुपमा दर्शाइएको छ । ऋग्वेदले यी शक्तिहरुलाई मातृशक्तिको रुपमा पनि चित्रण गरेको छ।
दशैँलाई अरु नामबाट पनि चिनिन्छ, जस्तै– दुर्गापूजा, विजयादशमी, शारदीय दुर्गोत्सव आदि । दशैँमा दुर्गा भवानी देवीलाई पुज्ने प्रक्रिया आफ्नो परम्परा, रीतिरिवाज र कुुलायनमुताबिक हुने हुँदा यस चाडपर्वमा गरिने पूजामा एकरूपता नहुनु स्वाभाविक हो । दुर्गोत्सवको अर्को तात्पर्य अन्तस्थ मानवतालाई प्रस्फुटित पार्नु, पशुवत् व्यवहारमाथि विजय प्राप्त गर्नु, मानवीय गुणले सुसम्पन बन्नु र अन्ततः देवत्वमा पुग्नु हो । असत्यलाई परास्त गरी सत्यको मार्ग अवलम्बन गरेर अन्तर्मनमा अवस्थित अहंकारलाई निस्तेज पार्नु हो । दशैँमा यव अर्थात् जौ रोपण गरिन्छ । त्यसको अंकुर क्रमशः अंकुरित हुँदै गएजस्तै हाम्रो जीवनमा पनि कल्याणरूपी बीज अंकुरित हुँदै गई वृक्षको रुप दिन सकेमा दशैँको सार्थकता रहन्छ।
दुर्गोत्सवको अर्को तात्पर्य अन्तस्थ मानवतालाई प्रस्फुटित पार्नु, पशुवत् व्यवहारमाथि विजय प्राप्त गर्नु, मानवीय गुणले सुसम्पन बन्नु र अन्ततः देवत्वमा पुग्नु हो । असत्यलाई परास्त गरी सत्यको मार्ग अवलम्बन गरेर अन्तर्मनमा अवस्थित अहंकारलाई निस्तेज पार्नु हो ।
दशैँ नेपाली मात्रको एक ठूलो चाड हो । यस चाडले धार्मिक सहिष्णुता दर्शाएकोले बौद्धमार्गी तथा हिन्दुमार्गी दुवैले समानरूपमा सबैसँग सहयात्रा गरेको पाइन्छ । आश्विन शुक्लपक्ष प्रतिपदाको दिन घर–आँगन लिपपोत गरी, स्नान गरी, शुद्ध भई, घडा (कलश) स्थापना गरी, यव (जौ) रोपण गरी, सप्तशती चण्डी पाठ गरेर श्री नवदुर्गा भवानीको पूजा–आराधना गरिन्छ। शरद ऋतु अनुकूल मौसम भएकोले बिहानीपख अलि–अलि जाडो भइसकेको हुन्छ, जसले गर्दा दशैँ मनाउन वातावरण सहज हुन्छ।
शास्त्रले देवीका अनेक अवतारको वर्णन गरेको पाइन्छ । त्यसरी नै स्त्रीरूपमा देवीहरू प्रकट हुँदा महाकाली, महालक्ष्मी र महासरस्वतीको नामबाट पुजिएको हुन्छ । देवीको कुनै पनि अवतारमा असत्यमाथि सत्यको विजय, दानवमाथि देवी–देवताको विजय भएको पाइन्छ । अनाचार, अत्याचार, पापाचार बढ्दै गएर मानवताको अस्तित्व नै संकटमा पर्न गएकोमा परमात्मा आफूद्वारा रचित सृष्टि व्यवस्थित गर्न समयानुसार अवतार लिनुहुन्छ । यसै अनुसार परमात्माले स्त्रीरूपमा अवतार लिनुभएको छ।
पहिलो दिनमा शैलपुत्री, दोस्रो दिनमा ब्रह्मचारिणी, तेस्रो दिनमा चन्द्रघण्टा, चौथो दिनमा कुष्माण्डा, पाँचौं दिनमा स्कन्दमाता, छैटौं दिनमा कात्यायनी, सातौँ दिनमा कालरात्रि, आठौं दिनमा महागौरी, नवौं दिनमा सिद्धिदात्री नामबाट प्रत्यक दिन एक–एक स्वरूपका पूजा–आराधना गरिन्छ।
यी नौ स्वरूपलाई नवदुर्गाको रूपमा पुकारिन्छ। नवदुर्गा देवीको पूजा अर्चना गर्दा आ–आफ्नो वैदिक वा तान्त्रिक शास्त्रीय विधि–विधानअनुसार आफ्नो परम्परा तथा सनातनलाई कायम राखी उपासनामा प्रवृत्त हुनुपर्दछ । जहिले पनि पूजा गर्दा निरन्तर नियम, निष्ठामा रही पूजा गर्नुपर्दछ। यसरी नवौं दिनको पूजा समाप्त भइसकेपछि दशौं दिनमा घटस्थापना गरिएको कलश–पूजा विसर्जन गरी उक्त जलले अभिषेक गरिन्छ । मान्यजनहरुको हातबाट देवी भगवतीको प्रसादस्वरुप टीका र जमरा लगाउने चलन छ। कोजाग्रत पूर्णिमाको दिनसम्म पनि दशैँको रातो टीका लगाउने, जमरा लगाउने, प्रसाद ग्रहण गर्ने प्रचलन छ।
दशैँ शक्ति साधन गर्ने पूजा भएकोले दशैँको पूजा अन्य सामान्य पूजाभन्दा विशेष किसिमको रहेकोले नै शक्तिसम्बन्धी सप्तशती पारायणको पञ्चम अध्यायको ३४ औं श्लोकमा यसरी वर्णन गरिएको छ–
या देवी सर्वभूतेषु शक्तिरुपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः ।
हामीले आफ्नो सनातन परम्परा र संस्कृतिलाई जसरी भए पनि बचाएर राख्नुपर्दछ । खालि कोरा सिद्धान्तमा नलागी यसको दार्शनिक पक्ष र व्यावहारिक पक्षको पनि महत्व बुझेर सोही अनुसार आफूलाई ढाल्दै लैजानुपर्दछ ।
दशैँ आ–आफ्नो परम्परा र संस्कृतिअनुसार मनाए तापनि अहिले पाश्चात्यको संस्कृतिले क्रमिकरुपमा अतिक्रमण भएकोले समयमा नै सजग र सतर्क हुनु समयको खाँचो भैसकेको छ । पूजाआजा, खानपान, पहिरहन इत्यादिमा समेत विकृतिले ठाउँ ओगटिरहेको हुँदा यसबाट जोगिनुपर्छ । आउँदो पुस्ताहरुलाई समेत शिक्षा दिनको लागि आफ्नो संस्कृति र परम्परालाई संरक्षण गरेर कालान्तरसम्म जोगाइराख्नु आजको माग हो ।